काठमाडौं । भारतले अनुदानमा दिएको उन्नत जातको १५ वटा मुर्रा राँगा बुधबार नेपाल ल्याइँदैछ ।
गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल–भारत कृषि तथा पशुपन्छीको क्षेत्रमा सहकार्यको समझदारी भएको थियो । जसअनुसार भारतले नेपालको दुग्ध र मासु विकासका लागि उन्नत जातको मुर्रा राँगा उपलब्ध गराउने घोषणा गरेको थियो ।
नेपाल–भारत कृषि तथा पशुपन्छीको क्षेत्रमा सहकार्यको समझदारीअनुसार मुर्रा प्रजातिको उन्नत नश्लको राँगा नेपालगञ्ज नाका भएर बुधबार नेपाल भित्रिने पशुसेवा विभागले जनाएको छ ।
राँगा लिनका लागि पशुसेवा विभाग, पशु क्वारेन्टाइन र केन्द्रीय पशु प्रयोगशालाका अधिकारीहरु नेपालगञ्ज भन्सार कार्यालय पुगेका छन् ।
बुधबार नेपाल भित्रिने राँगाहरु ३ वटा नेपालगञ्ज, ५ वटा लाहान र ७ वटा पोखरामा रहेको ब्रिडिङ केन्द्रमा लगिने विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले बताउनुभयो । यसले नेपालको दूध उत्पादन क्षमता तथा भैंसीको नश्ल सुधारमा फड्को मार्नेछ ।
भारतीय सेन्ट्रल इन्ष्टिच्युट फर बफेलोले विकास गरेको मुर्रा प्रजातिको भैंसीको जात विश्वमै उन्नत मध्येको एक मानिन्छ । भारतको हरियाणामा रैथाने प्रजातिलाई अनुवंशिक विकास गर्दै लामो अध्ययनबाट उन्नत बनाइएको यो जात दूध उत्पादन विकासका लागि सबैभन्दा राम्रो मानिन्छ ।