काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले नेपाली जनता सतर्क र सचेत नभए २०६२–६३ को जनआन्दोलनका उपलब्धि समाप्त हुन खतरा रहेको औँल्याउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता केसीले लोकतन्त्र र गणतन्त्र ल्याउनेहरूको व्यवहार राम्रो नभएकाले जनताले दुःख पाइरहेको बताउनुभयो । अहिले जनता आक्रोशित भएकाले यसको फाइदा प्रतिगामीहरूले लिन सक्नेतर्फ सचेत गराउनुभयो । जनताको समस्या समयमै सम्बोधन गर्न सकिएन भने राजतन्त्र फर्कने खतरा रहेको केसीले औँल्याउनुभयो ।
नेता केसीले राजतन्त्र आएर जनताको समस्या समाधान हुने स्थिति नभएको पनि दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिले टिकटक बन्द भयो भनेर विरोध भइरहेको छ । लोकतन्त्र छ र पो विरोध गर्न पाउनुभएको छ । गणतन्त्र सिद्ध्याएर हुकुमी, पारिवारिक र फाँसी शासन ल्याएर जनतालाई सुख हुन्छ त ? जनताको प्रतिनिधिले नसकेको कुरा राजाले गर्न सक्छन् ? पक्कै पनि सक्दैनन् ।’
गणतन्त्रमा संघीयताको नाममा जनतालाई अनावश्यक रुपमा प्रदेशको बोझ बोकाइएको आरोप पनि उहाँले लगाउनुभएको छ । उहाँले सात–आठ वर्षको अवधिमा काम न काजको प्रदेश सरकार चाहिँदै भन्ने स्पष्ट भएको दाबी गर्नुभयो । नेता केसीले जनता संघीयता र प्रदेशबाट पनि चिढिएको बताउँदै यसको औचित्य नरहेको जिकिर गर्नुभयो ।
समाजमा भाँडभैलो ल्याएकाले टिकटक बन्द गर्नु उचित भएको नेता केसीको तर्क छ । उहाँले भन्नुभयो, ‘सरकारको निर्णयमा सबैले समर्थन वा विरोध गर्छन् भन्ने कुरा होइन । सती प्रथा, दास प्रथा जस्ता गलत परम्परा बन्द गर्दा पनि त विरोध आएको थियो नि । टिकटक चलाएर आवारा, लफंगाले जे पनि भन्ने ? लोकतन्त्र भनेको जे पनि बोल्ने, जे पनि गर्ने भन्ने त होइन नि । यसका पनि सीमा र मर्यादा छन् । यसबाट कसैको व्यक्तिगत महत्त्वाकाङ्क्षा धक्का लागेको होला, पञ्चायती झल्को लागेको होला । सरकारको निर्णयमा हाम्रो पार्टीको सहमति छ ।’