काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको सामाजिक न्यायको इतिहासमा नेपाल संवत्का प्रवर्तक एवं राष्ट्रिय विभूति शंखधर साख्वाले खेलेको भूमिका अविस्मरणीय रहेको बताउनुभएको छ ।
नेपालको मौलिक संवत् नेपाल संवत् ११४४ शुभारम्भका अवसरमा शुभकामना दिँदै उहाँले साख्वा एक प्रगतिशील सामाजिक अभियन्ता र नेपाल संवत्का प्रवर्तकका रुपमा रहेको बताउनुभयो ।
नेवारी समुदायमा जन्मिएर सिंगो देशकै गरिमा र मौलिकताका निम्ति उहाँले पुर्याएको योगदान सबैका लागि प्रेरणादायी रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जनतालाई ऋणबाट मुक्त पार्ने अभियानका अभियन्ता साख्वाले समकालीन समाजमा परिवर्तनको महत्त्वपूर्ण जग बसालेको बताउनुभएको छ ।
आफ्नो नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिने ऐतिहासिक निर्णय गरेको स्मरण गर्दै उहाँले नेपाल संवत्ले सम्पूर्ण नेपालीलाई सहकार्य र एकताका साथ राष्ट्रको समृद्धि, सुशासन र विकासको यात्रामा अग्रसर हुन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले नेपाल संवत्का अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र एकताको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।