Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

तिहारजस्ता पर्वहरूले परिवर्तित राजनीतिक व्यवस्थाको रक्षा गर्दै सांस्कृतिक आधार तयार पार्ने प्रधानमन्त्रीको विश्वास

तिहारजस्ता पर्वहरूले परिवर्तित राजनीतिक व्यवस्थाको रक्षा गर्दै सांस्कृतिक आधार तयार पार्ने प्रधानमन्त्रीको विश्वास

  • सोमवार, कार्तिक २७ २०८०

  • 627
    SHARES

  • तिहारजस्ता पर्वहरूले परिवर्तित राजनीतिक व्यवस्थाको रक्षा गर्दै सांस्कृतिक आधार तयार पार्ने प्रधानमन्त्रीको विश्वास
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परिवर्तित राजनीतिक व्यवस्थाको रक्षा एवं सुदृढीकरण गर्दै समाजवादको वैचारिक, राजनीतिक, आर्थिक एवं सांस्कृतिक आधार तयार पार्न तिहार लगायतका पर्वको महत्त्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्नुभएको छ । सोमबार(आज) बिहान तिहारको शुभकामना दिँदै उहाँले यस्तो विश्वास व्यक्त गरेका हुन् ।
     
    ‘नेपाली जनताको निकै ठूलो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रले आन्तरिक राष्ट्रियतालाई सुदृढ गर्दै देशको स्वाधीनता र स्वाभिमान उच्च राख्न हामीलाई निकै ठूलो आधार प्रदान गरेको छ,’ उहाँले भन्नुभएको छ, ‘तसर्थ, परिवर्तित राजनीतिक व्यवस्थाको रक्षा एवं सुदृढीकरण गर्दै समाजवादको वैचारिक, राजनीतिक, आर्थिक एवं सांस्कृतिक आधार तयार पार्न तिहार लगायतका पर्वहरूको महत्त्वपूर्ण भूमिका रहने मेरो गहिरो विश्वास छ ।’
     
    प्रधानमन्त्री प्रचण्डले नेपालका विविध जाति, जनजाति र समुदायले मनाउने राष्ट्रिय पर्वहरू प्राकृतिक सम्पदा र ऐतिहासिकतामा आधारित रहँदै आएको पनि उल्लेख गर्नुभएको छ।
     
    ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषता एवं अथाह प्राकृतिक सम्पदा र सभ्यताहरूको संगमस्थलका रूपमा रहिआएको छ । विविधतायुक्त हाम्रा संस्कार, संस्कृति र पर्वहरू राष्ट्रका साझा सम्पत्ति मात्र नभएर देश र जनतालाई सांस्कृतिक र भावनात्मक रूपले एकताको सूत्रमा बाँध्ने महत्त्वपूर्ण आधारहरूसमेत हुन्,’ शुभकामना सन्देशमा भनिएको छ, ‘नेपालका विविध जाति, जनजाति र समुदायले मनाउने राष्ट्रिय पर्वहरू प्राकृतिक सम्पदा र ऐतिहासिकतामा आधारित रहँदै आएका छन् । यस्ता पर्वहरूभित्र श्रमप्रति सम्मान, सामाजिक भावना र मित्रता, सामाजिक सहअस्तित्व एवं मानवीय जीवनमा आइपर्ने चुनौतीहरूमाथि सहकार्य र एकताका आधारमा विजय हासिल गर्ने विचार र व्यवहार अन्तर्निहित छन् ।’
     
    तिहार लगायतका पर्वहरू विश्व समुदायमा नेपालको विशिष्ट पहिचान झल्काउने महत्त्वपूर्ण सन्दर्भसमेत रहेको प्रधानमन्त्रीको भनाइ छ ।
     
    ‘यस पर्वले पारिवारिक पुनर्मिलन, सामाजिक सद्भाव र एकता एवं राष्ट्रिय स्वाधीनता बलियो तुल्याउँछ, उत्पादन, श्रम, सूचना र सामाजिक रक्षकको भूमिका निर्वाह गर्ने पशुपन्छीहरूको योगदान र मानिससँगको अन्तरक्रिया प्रगाढ बनाउँछ,’ उहाँले थप्नुभएको छ, ‘देउसी–भैलो लगायतका सांस्कृतिक क्रियाकलापले उल्लासमय वातावरणका साथै संस्कृति प्रवर्धनमा महत्त्वपूर्ण योगदान पुग्दछ ।’
     
    नेपालीहरू दोस्रो ठूलो चाड तिहार कात्तिक २५ गते शुरू भएको हो । आज गाई पूजा हो ।


    सोमवार, कार्तिक २७ २०८०१०:३२:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij