काठमाडौं । नेकपा (एकीकृत समाजवादी) जाजरकोटका अध्यक्ष कमानबहादुर खड्काले भूकम्पपीडितको राहत वितरणमा घिनलाग्दो किसिमले राजनीतीकरण गरेको आरोप लगाउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष खड्काले जाजरकोटमा अत्यन्त चिसो रहेको बताउँदै ५० प्रतिशत नागरिक खुला आकाशमुनि रात बिताउन बाध्य रहेको स्पष्ट पार्नुभयो ।
आ–आफ्ना मान्छेलाई राति राति घरमै राहन पु¥याइने भएकाले सदरमुकाममा नजिककै कैयौं वडामा अझै राहत वितरण हुन नसकेको नेता खड्काको भनाइ छ ।
यस्तै राहत वितरणमा घिनलाग्दो काम भइरहेको पनि खड्काले आरोप लगाउनुभयो । जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय सरकारमार्फत राहत वितरण गर्ने जिम्मा दिए पनि त्यो पारदर्शी नभएको र राहत बाँड्नुपर्नेमा राजनीतिक भेदभाव भइरहेको नेता खड्काको भनाइ छ ।
सरकारले तत्काल एक घर परिवार बराबर ५० हजार रुपैयाँ उपलब्ध गराएर अस्थायी आवास बनाउनुपर्नेमा उहाँको जोड छ ।