काठमाडौँ । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको आइपीओ सर्वसाधारणले भर्ने म्याद आज सकिदैछ । गत १६ गतेदेखि सर्वसाधारणका लागि आइपीओ भर्न खुल्ला गरिएकोमा आज कार्यालय समयपछि म्याद सकिने कम्पनीका अध्यक्ष जगत पोखरेलले जानकारी दिनुभयो ।
छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा मंसिर १ गतेसम्म विक्री लम्बिने भनिएपनि मागभन्दा धेरै गुणा बढी आवेदन परिसकेकाले म्याद थप्नु नपर्ने भएको कम्पनीले जनाएको छ ।
कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ विक्री तथा बाँडफाँट गरेपछि अहिले सर्वसाधारणमा खुल्ला रहेको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि १९ लाख १२ हजार ५०० कित्ता आईपीओ विक्री खुला गरेकोमा १४ लाख २४ हजार ५९० कित्ता मात्र बाँडफाँट गरिएको छ। स्थानीयमा विक्री हुन नसकेको ४ लाख ८७ हजार ९१० कित्ता आईपीओसमेत थप गरी सर्वसाधारणमा विक्री गर्न राखिएको छ ।
अब दोस्रो चरणमा ९५ हजार ६२५ कित्ता सामूहिक लगानीकोषका लागि र ३८ हजार २५० कित्ता कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको २० लाख ७५ हजार २८५ कित्ता आईपीओ सर्वसाधारणका लागि निस्कासन गरिएको कम्पनीले जनाएको छ । सर्वसाधारणले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख ८० हजार कित्तासम्म माग गर्न सक्नेछन्।
कम्पनीको आईपीआ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
विक्री प्रबन्धकसँगै लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ। साथै मेरो शेयर अनलाईन समेत आवेदनका लागि प्रयोग गर्न सकिने व्यवस्था रहेको छ।आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ।
यस रेटिङ्गले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ। कम्पनीले कास्की जिल्लामा २५ मेगावाट क्षमताको सेतीनदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ।