काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचन माघको दोस्रो हप्तासम्ममा गर्नेगरी तयारी गरेको छ ।
आयोगले अगामी फागुन २१ गते रिक्त हुन आउने १९ जना राष्ट्रियसभा सदस्य पदका लागि माघको दोस्रो हप्ता सम्ममा निर्वाचनको तयारी गरेको हो । बुधबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो कुरा जानकारी गराउनुभएको थियो ।
उहाँले फागुन २१ गते २० जना राष्ट्रिय सभा सदस्यको पद रिक्त हुने र त्यसमध्ये १९ जनाको ठाउँमा निर्वाचन गर्नुपर्ने बताउनुभयो । आयोगले माघको १०, ११ अथवा १२ गते भित्रमा निर्वाचन गर्नेगरी तयारी गरिरहेको बताउनुभयो। त्यसैगरी रिक्त रहेको स्थानमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका विभिन्न पदहरुमा आगामी वैशाख महिनामा निर्वाचन गर्नेगरी सरकारलाई परामर्श दिइएको उहाँको भनाइ छ ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले यसै आर्थिक वर्षबाट स्थानीय तहमार्फत मतदाता नामावली संकलन गर्ने काम अगाडि बढाउने पनि जानकारी दिनुभयो । त्यस्तै विदेशमा भएका तर मतदाता नामावलीमा नाम नभएका नेपालीको पनि मतदाता नामावलीमा नाम संकलन गर्ने गरी काम अगाडि बढेको उहाँले बताउनुभयो ।