काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का प्रवक्ता मनिष सुमनले राष्ट्रिय सहमति र सर्वदलिय सरकार नबन्ने दाबी गर्नुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले कुनै पनि पहल र प्रयास नभएकाले राष्ट्रिय सहमतिको सरकार बन्नै नसक्ने बताउनुभयो ।
कोशी प्रदेशमा नेपाली कांग्रेसले आफ्नै पार्टीमा विद्रोह गरेर मूख्यमन्त्री बन्नकै लागि र राजनीतिक सत्ताको हानाथापको लागि देखाएको बाटोको बाट्छिट्टा अन्य प्रदेशमा पनि पर्दैन भनेर भन्न सक्ने अवस्था नरहेको बताउँदै उहाँले अहिलेको शान्त अवस्था कुनै ठुलो आँधी आउनुभन्दा पहिलेको संकेत भएको स्पष्ट पार्नुभएको छ ।
बाहिरबाट हेर्दा संघीय र सातै प्रदेशका सरकारहरु सुरक्षित र शान्त रहेको देखिए पनि आँधी आउनुभन्दा अगाडिको शान्ती भएको दोहो¥याउनुभयो । कोशी प्रदेशमा भएको सत्ता उथलपुथलको दृष्टिकोणले प्रत्यक प्रदेश र संघको सरकारलाई आफूहरुले राम्रोसँग नियालिरहेको प्रवक्ता सुमनको भनाइ छ ।
यस्तै उहाँले अहिले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबारे विमत्ती राख्ने कुनै कारण पनि नभएको स्पष्ट पार्दै अहिलेको सरकारको अवसनाको कुनै बाटो नभएको बताउनुभयो ।