Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

तीन महिनामा साढे ९ अर्बको बिजुली भारत बिक्री

तीन महिनामा साढे ९ अर्बको बिजुली भारत बिक्री

  • बिहिवार, कार्तिक २ २०८०

  • 848
    SHARES

  • तीन महिनामा साढे ९ अर्बको बिजुली भारत बिक्री

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तीन महिनामा भारतीय बजारमा बिजुली बिक्री गरेर साढे ९ अर्ब बढी रकम भित्र्याएको छ ।

    आर्थिक वर्ष २०८०–८१ को तीन महिनामा (साउन, भदौ, असोज) प्राधिकरणले ९ अर्ब ६४ करोड ५३ लाख रुपैयाँको बिजुली भारतीय बजारमा बिक्री गरेको हो ।

    यो गत आर्थिक वर्षको तीन महिनाको तुलनामा ३ अर्ब ४५ करोडले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब २० करोडको हाराहारीको बिजुली बिक्री भएको थियो । प्राधिकरणले गत जेठदेखि असोजसम्म ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ ।

    प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यसवर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो । प्राधिकरणले असोज महिनामा मात्र ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ ।

    तीन महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट १० रुपैयाँ २७ पैसा रहेको प्राधिकरणको दाबी छ । भारतीय बजारमा बोलकबोल (बिडिङ) मार्फत बिजुली आयात निर्यात हुँदै आएको छ । गत जेठ महिनाका पाँच दिनमा ४० करोड ५ लाख र असारमा १ अर्ब ७५ करोड ७० लाख रुपैयाँको विद्युत् भारतर्फ निर्यात भएको थियो ।

    जेठ र असारमा भारतमार्फत विद्युत्को औसत दर प्रतियुनिट ९ रुपैयाँ ६७ पैसा रहेको प्राधिकरणले जनाएको छ । चालु आर्थिक वर्षको साउनमा २ अर्ब १४ करोड ३३ लाख, भदौमा ३ अर्ब ४७ करोड ८५ लाख र असोजमा ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत् भारतीय बजारमा निर्यात भएको छ ।

    गत आर्थिक वर्षको साउनमा १ अर्ब ९४ करोड, भदौमा २ अर्ब ५४ करोड र असोजमा १ अर्ब ७१ करोडको बिजुली भारतमा बिक्री गरेको थियो । चालु आर्थिक वर्षमा प्राधिकरणले ६३२ मेगावाट बिजुली निर्यातको अनुमति पाएका छ । जस कारण तीन महिनामा ९ अर्ब ६४ करोड ५३ लाख रुपैयाँको विद्युत् निर्यात भएको हो ।

    चालु आर्थिक वर्षको साउन, भदौ र असोजमा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत बिक्रीदर प्रतियुनिट क्रमशः ८ रुपैयाँ ४३ पैसा, ११ रुपैयाँ ९७ पैसा र १० रुपैयाँ २० पैसा रहेको छ । तीन महिनाको विद्युत् समग्र औसत बिक्रीदर प्रतियुनिट १० रुपैयाँ २७ पैसा छ । विद्युत् निर्यातबाट नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न र देशको विदेशी मुद्रा सञ्चितिमा योगदान पुगेको छ ।


    बिहिवार, कार्तिक २ २०८००१:४४:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij