काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका लागि ल्याउँदै गरेको करिब ३ हजार खसी, बोका र च्याङ्ग्रा भोलि मात्र काठमाडौं आइपुग्ने भएको छ ।
घटस्थापनाको आसपास पारेर पश्चिम नेपालका विभिन्न जिल्लाबाट खरिद गरिएका खसी बोका सोमबार बिहानसम्ममा काठमाडौं आइसक्ने खाद्य कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले बताउनुभयो ।
‘सकभर आज बेलुकासम्ममा खसी बोका काठमाडौं आइसक्ने जानकारी प्राप्त भएको छ । बाटोको स्थिति, ढिलामा पनि भोलि बिहानसम्ममा आइसक्नेछ’ सूचना अधिकारी न्यौपानेले भन्नुभयो, ‘खसी बोकाको बिक्री वितरण भने पर्सि मंगलबारबाट गर्छौँ ।’
कम्पनीले पश्चिम नेपाल दाङ, तुल्सीपुर र हेटौँडाबाट खसी बोका ल्याउँदैछ । यता धादिङका केही सहकारीहरूले समेत खसी बोका सङ्कलन गरेर उपलब्ध गराउने बताएकोमा सम्भव भएसम्म उताबाट समेत केही खसीबोका ल्याइने उहाँले जानकारी दिनुभयो ।
यस पटक पनि खाद्य तथा व्यापार कम्पनीले ३ हजार खसी, बोका र च्याङ्ग्रा ल्याउने तयारी गरेको छ । २ हजार वटा खसी, बोका र एक हजार च्याङ्ग्रा ल्याउने तयारी गरेको कम्पनीले ८ करोड ३६ लाख रुपैयाँ बजेट छुट्याएको छ ।
गत वर्ष गत कूल एक हजार ६२५ खसी, बोका र च्याङ्ग्रा खरिद–बिक्री गरेको कम्पनीले २ करोड २६ लाख रुपैयाँ खर्च गरेको थियो । प्रतिकेजी ६८० (जिउँदो) खसी–बोका र एक हजार २५० प्रतिकेजी च्याङ्ग्रा बेचेको थियो । यसो गर्दा कम्पनीलाई ५ लाखभन्दा बढी फाइदा भएको सूचना अधिकारी न्यौपानेको भनाइ छ ।