काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि राजेन्द्र कुमार (आरके) शर्मा नेतृत्वको प्यानलले उमेद्वारी घोषणा गरेको छ ।
एनआरएनएको ११ औं महाधिवेशन तथा विश्व सम्मेलनले आगामी दुई वर्ष कार्यकालका लागि नेतृत्व चयन गर्ने छ ।
राजधानीमा आयोजित पत्रकार सम्मेलनमा शर्मा समूहले प्यानलको घोषणा गरेको हो । प्यानल घोषणा कार्यक्रममा शर्माले आफू पदमा हुँदा वा नहुँदा २००७ देखि नेपाल र नेपालीको हितमा काम गरेको बताउनुभयो। उहाँले आगामी कार्यकालका लागि ल्याएको २४ योजना पूरा गर्ने दाबी गर्नुभयो । आफूलाई सबै देशका मतदाताको सहयोग रहने उहाँको विश्वास छ ।
शर्माले आफूले जितेमा विश्वभरमा नेपालीलाई एकै ठाँउमा ल्याउन पहल गर्ने बताउनुभयो । शर्माको प्यानलमा उपाध्यक्ष खगेन्द्र न्यौपाने, रोविन्द्र प्रसाद श्रेष्ठ (खगेन्द्र), विजय मोक्तान, अभिमान सिंह बस्नेत, शसिकान्त पौडेल, अब्दुल वासिद युवा परिषद उपाध्यक्ष रहेका छन् । यस्तै उपमहासचिव प्रविण गुरुङ, सचिव लोक दाहाल, मनोजकुमार श्रेष्ठ, आरसि पोखरेल, टंक गैरेले उमेद्वार घोषणा गरेका छन् । यस्तै कोषाध्यक्षमा ठाकुर प्रसाद ढुंगाना रहेका छन् भने महिला संयोजक देवकी केसीले उम्मेदवार रहेका छन् । संघमा ९६ हजार सदस्य छन् भने ४२ हजारले मतदानमा सहभागी हुनेछन् ।
कार्यक्रममा उपाध्यक्ष तथा युवा परिषद संयोजक अबदुल वासिदले युवाले पद पाएपनि आफ्नो भिजन देखाउन नपाएको भन्दै आफ्नो योजना पूरा गर्न उमेद्वारी दिएको बताउनुभयो ।
कार्यक्रममा शर्माले २४ महिनामा २४ बाचा सहितको घोषणापत्र प्रस्तुत गर्नुभयो। जसमा, एनआरएनहरुबीचको एकताको पहिलो प्रतिबद्धता रहेको छ। त्यस्तै, वैदेशिक रोजगारः दक्ष जनशकि सुरक्षित वातावरण, सामाजिक सुरक्षा, हाम्रो नीतिः सुधारौ श्रमिकको आर्थिक स्थिति, विप्रेषणको प्रयोग कहाँ उत्पादनमूलक उद्यम हुन्छ जहाँ, एनआरएनएको निरन्तर खटनः गैरआवाशीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण गठन, सांगठनिक पुनर्संरचनाः कार्यदलबाट गहन योजना, मानव संशाधनः सबलीकरणयुक्त कार्यसम्पादन,गैरआवासीय सरोकारः नागरिकता र मताधिकार, नेपाल समृद्धिको दस्ता गैरआवासीय दोस्रो पुस्ता, अबको समृद्धिः जगेर्ना गरौँ भाषा र संस्कृति रहेका छन् ।
साथै, एनआरएनए शक्तिः अधिकारसम्पन्न एनसीसी, विदेशमा सिकेको ज्ञानः देश निर्माण अभियान, देश विकासको बलः एक एनसीसी, हजार पर्यटक, एनआरएनए निर्वाचनः सबैले गर्न पाऊन् मतदान, संस्थागत सुशासनः शून्य सहनशील स्वअनुशासन, घटाऔँ वैदेशिक श्रम, फर्किनेलाई स्वरोजगार कार्यक्रम, अग्रजलाई सम्मानः युवा परिचालन र विज्ञबाट ज्ञान, नेपाली धन, नेपाली श्रमः अबको उद्यम,आर्थिक कुटनीतिः लगानी प्रवर्द्धन मुख्य नीति,समावेशी अभियानः महिला सदस्यलाई प्रोत्साहन, गरौं उच्चतम् प्रयोग सूचना प्रविधिः हुन्छ विकास र समृद्धि, प्रभावकारी सञ्चार व्यवस्थापन तथा सम्बन्ध विस्तार कार्यक्रम, नेपाली रोजौं, नेपाली खोजौं स्निर्यात बढाउन जोडतोडले लागौं, योजनाबद्ध कार्यान्वयनः न्यायपूर्ण २४ कार्यसम्पादन मूल्यांकन लगायतका प्रतिबद्दता राखेका छन् ।