काठमाडौं । नेपाली कांग्रेसका नेता केदार कार्कीले कांग्रेसकै नेतृत्वमा कोशी प्रदेश सरकार बनाउनुपर्छ भन्ने अडानमा रहेको बताउनुभएको छ ।
माओवादी केन्द्रलाई प्रदेशको मुख्यमन्त्री दिने सहमति नभएको बताउँदै उहाँले केन्द्रका नेताहरु बसेर गरेको सहमति आफूहरुले नमान्ने स्पष्ट पार्नुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै कोसी प्रदेशका सांसदसमेत रहनुभएका कार्कीले कांग्रेसभित्र निषेधको राजनीति हुन लागेको आरोपसमेत लगाउनुभएको छ । अहिले कसैको पनि बहुमत नभएकाले सहमतिको राजनीति अघि बढाउँ भन्ने पक्षमा रहेको बताउनुभएको छ ।
दुई पटक मुख्यमन्त्री भएका उद्धव थापा अब मुख्यमन्त्री नबन्ने पनि उहाँको भनाइ छ । यस्तै उहाँले संविधानको धारा १६८ (५) को सही सदुपयोग हुँदा आफू नै मुख्यमन्त्री बन्न सक्ने दाबी गर्नुभयो ।
कोसीमा संवैधानिक इजलासको फैसलालाई टेकेर नयाँ अभ्यास हुन सक्ने बताउँदै उहाँले एमालेको समर्थनमा जो पनि मुख्यमन्त्री बन्न सक्ने पनि संभावना व्यक्त गर्नुभएको छ । देउवा, प्रचण्ड, ओली, माधव र राजेन्द्र लिङदेन सबैको समर्थन हुन सक्ने भएकाले जसको सम्भावना छ उसलाई साथ दिने स्थिति रहेको पनि नेता कार्कीको भनाइ छ ।
यस्तै कांग्रेस गुटकै कारण जीवित रहेको स्पष्ट पार्दै कोसीमा कांग्रेस विभाजित नहुने नेता कार्कीको विश्वास रहेको छ ।