Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

पोखरामा दोस्रो अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन सुरु

पोखरामा दोस्रो अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन सुरु

दर्जन बढि देशका प्रतिष्ठित वैज्ञानिक र विज्ञहरूद्धारा कार्यपत्र प्रस्तुत हुने
  • शनिवार, आश्विन २० २०८०

  • 756
    SHARES

  • पोखरामा दोस्रो अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन सुरु

    पोखरा । काठमाडौं विश्वविद्यालय र जापानको होक्काइडो विश्वविद्यालयको आयोजना तथा नेपाल पर्यटन बोर्डको आतिथ्यमा शुक्रवार देखि पोखरामा दोस्रो अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन सुरु भएको छ ।

    तीन दिनसम्म चल्ने सम्मेलनमा नेपाल सहित भारत, चीन, संयुक्त राज्य अमेरिका, बेलायत, जापान, भियतनाम, स्पेन, र पोल्याण्डका प्रतिष्ठित वैज्ञानिक र प्राज्ञिक विज्ञहरूले ७० भन्दा बढी प्राविधिक छलफल र मुख्य प्रस्तुतिहरू राख्नेछन् ।

    सम्मेलनमा विभिन्न देशका सय भन्दा बढी वैज्ञानिक र प्राज्ञिक विज्ञहरूको सहभागिता रहेको छ । सम्मेलनमा दीगो पर्यटनका विषयमा गहन छलफल हुनेछ ।

    गतवर्षको मंसिर मंसिर १५, १६ र १७ गते काठमाण्डौंको चन्द्रागिरिमा प्रथम अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास सम्मेलन–२०२२ आयोजना गरिएको थियो । त्यसैको दोस्रो संस्करणका रुपमा यो पटक पोखरामा कार्यक्रम आयोजना गरिएको हो ।

    सम्मेलनको उद्घाटन गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री जीतबहादुर आले मगरले जलवायु परिवर्तन विश्वको साझा मुद्धा भएको उल्लेख गर्दै यसबाट हुने जोखिम न्युनिकरणका लागि विश्व समुदायको साझा चासो र चिन्ता आवश्यक भएको बताउनु भयो ।

    उहाँले नेपालको पर्यटनको आधार हिमाल भएको बताउँदै यसको संरक्षणमा सरोकारवाला निकायहरु बीच समन्वय आवश्यकता माथी जोड दिनुभयो ।

    समेलनमा मुख्य वक्ताको रुपमा प्रा.डा.मार्टिन प्राइसले माउण्टेन अन ग्लोबल एजेण्डा र प्रा.डा. तेजी वातानाबेले रिजेनेरेशन टुरिजम केश स्टडीः डेसेत्सुजान नेशनल पार्क विषयमा प्रस्तुतिकरण दिनुभएको थियो ।

    नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले सम्मेलनले दिगो पर्वतीय पर्यटनका चुनौती र उत्कृष्ट अभ्यासका बारेमा विश्वव्यापी रूपमा छलफल र आदानप्रदान गर्न उपयुक्त मञ्च प्रदान गर्ने बताउनु भयो ।

    dhananjaya.jpg

    कार्यक्रममा भारत सरकारका प्रतिनिधि राजीव रञ्जन मिश्र र प्राध्यापक डा. विश्वजित राय चौधरीले हिमाल र नदीको साझा सम्पदाको विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

    काठमाडौं विश्वविद्यालयका डा. रिजनभक्त कायस्थको अध्यक्षतामा शुरु भएको उद्घाटन सत्रमा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरालाई महोत्सव स्थलको रूपमा छानेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

    सम्मेलनको पहिलो दिन “भू–संरक्षण, भू–पार्क र भू–पर्यटन, “पहाडी संरक्षित क्षेत्रमा दिगो मनोरञ्जन प्रयोगको प्रावधान सुनिश्चितता, “पहाडी नदीहरूमा भौगोलिक विविधता र कनेक्टिभिटी“ लगागतका प्राविधिक विषयहरुमा समानान्तर सत्रहरू सञ्चालन गरिएको थियो ।

    शनिवार र आइतवार पनि विभिन्न समानान्तर सत्रहरुमा दीगो पर्यटन, जवलायु परिवर्तन र यसको असर प्रभाव लगायतका विषहरुमा कार्यपत्र प्रस्तुत हुनेछन् ।

    2.jpg


    शनिवार, आश्विन २० २०८०१२:२९:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij