काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता राजन दाहालले ज्ञानेन्द्र शाहलाई ‘राजा’ भन्नु संविधानमाथिको ठाडो चुनौती भएको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै दाहालले मुलुकमा कोही पनि राजा नभएको तर्क गर्दै जनताबाट निर्वाचित प्रधानमन्त्री र राष्ट्रपति भएको र संविधानले राजा, राजतन्त्रलाई नचिन्ने स्पष्ट पार्नुभयो ।
यस्तै सांसद दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प संघीय लोकतान्त्रिक गणतन्त्र नै भएको दाबी गर्नुभएको छ । अर्को प्रसंगमा दाहालले संविधान र गणतन्त्रमाथि सुनियोजित आक्रमणमा सत्तापक्षीय सांसद पनि फसेको आरोप लगाउनुभएको छ । हिजो संसद्मा कांग्रेस सांसद सुनिल शर्माले प्रधानमन्त्रीको घडी र छोरी गंगा दाहालको ब्यागबारे उठाएको प्रश्नप्रति समेत सांसद् दाहालले आपत्ती जनाउनुभएको छ ।
यस्तै उहाँले अर्को प्रसंगमा गठबन्धनको नेतृत्व सहमति बमोजिम मात्र बदलिने दाबी गर्नुभएको छ । कांग्रेस नेता शेखर कोइरालाको व्यक्तिगत विचारले आकार ग्रहण गर्ने स्थिति नबन्ने सांसद दाहालको भनाइ छ ।
यस्तै रिगलल भनिने गुण्डा नाइके योगराज ढकालको आम माफीमा कमीकमजोरी भएको र त्यस्ता कानुनी छिद्र बन्द गर्नुपर्ने बहस चलेको पनि दाहालले बताउनुभएको छ ।