काठमाडौं । देशभरका स्थानीय तहका कर्मचारीहरुले पनि आन्दोलन सुरु गरेका छन् । गत ३ दिनदेखि काठमाडौ केन्द्रीत आन्दोलन सुरु गरेका उनीहरुले आज पनि माइतीघर मण्डलामा धर्ना दिन लागेका छन् ।
स्थानीय तह कर्मचारी संघर्ष समिति नै गठन गरेर आफूहरुले चरणबद्ध आन्दोलन सुरु गरेको संघर्ष समितिका नेता तथा कावासोती नगरपालिकाका वडा सचिव जीवन अधिकारीले जानकारी दिनुभयो ।
आफूहरुको मागका बारेमा तत्काल सरकारले चासो नदेखाएमा सबै पालिकामा काम ठप्प पार्नेसम्मका आन्दोलनका कार्यक्रमहरु तय गरिएको उहाँले बताउनु भयो ।
नेपाली रेडियो नेटवर्कको पालिका बहसमा उहाँले सरकारद्धारा प्रस्तावित संघीय निजामती विधेयका धेरै प्रावधान आपत्तिजनक र विभेदकारी भएको उल्लेख गर्नुभयो ।
संघीय निजामती विधेयकमा स्थानीय सेवामा काम गर्नेलाई कर्मचारी नै स्वीकार नगरिएकाले आन्दोलन गर्नुपरेको उहाँको भनाई छ । स्थानीय तहमा स्थानीय सेवाकै प्रमुख प्रशासकीय अधिकृत हुनुपर्नेमा सङ्घको कर्मचारी पठाउने प्रस्ताव विधेयकमा गरिएकाले आन्दोलन गर्न बाध्य भएको अधिकारीले स्पष्ट पार्नुभयो ।
निजामतीको परिभाषाभित्र स्थानीय कर्मचारीलाई पनि समेटिनुपर्ने, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनु पर्ने, संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूलाई कुनै पनि सेवामा प्रवेश गर्दा उमेर हद नलगाउनुपर्ने, अन्तरप्रदेश सरुवाको व्यवस्था ऐनमै राखिनुपर्ने लगाएतका माग राखिएको अधिकारीले बताउनु भयो ।
त्यसैगरी सबै स्थानीय तहमा वैज्ञानिक पूर्वानुमानयोग्य चक्रिय प्रणालीमा सरुवा गरिनु पर्ने, जुन सुकै तहमा बहाल रहेको कर्मचारीको सेवा अवधि जोडिनु पर्ने, स्थानीय सेवाका कर्मचारीको सेवाको सुरक्षा हुनुपर्ने, समायोजन भएका कर्मचारीको उचित व्यवस्थापन हुनुपर्ने लगायतका मागहरु पनि आफुहरुले राखेको संघर्ष समितिका नेता अधिकारीले जानकारी दिनुभयो ।