काठमाडौं । माओवादी केन्द्रका महासचिव देव गुरुङले एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति प्रतिगामी र पश्चगामी चिन्तनको उपज भएको आरोप लगाउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गुरुङले सरकारले जतिसुकै राम्रो काम गरे पनि प्रतिपक्षले विरोध गर्नुपर्ने र हरेक कुरालाई निषेध गर्नुपर्ने परम्परागत संसदीय अभ्यासको नकारात्मक पक्षलाई ओलीले दह्रोसाथ आत्मसात् गरेको आरोप लगाउनुभयो ।
वर्तमान संविधानका गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समानुपातिक प्रतिनिधित्वजस्ता उपलब्धिको मूल जग दसवर्षे जनयुद्ध रहेको बताउँदै उहाँले त्यसलाई निषेध गर्नु भनेको प्रतिगामी र पश्चगामी चिन्तनको उपज रहेको स्पष्ट पार्नुभएको छ ।
यस्तै नेता गुरुङले ओली सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानमा आफू पनि तानिन्छु कि भनेर त्रसित भएको आरोप लगाउनुभएको छ ।
यस्तै उहाँले नेपाली कांग्रेस औपचारिक रुपमा सरकारमा रहेको र सरकारका सबै निर्णय आपसी सहमतिमा भएको बताउनुभएको छ ।