काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या आक्रामक रुपमा बढ्न थालेको भन्दै काठमाडौँ उपत्यकाबासीलाई अत्यन्त सजग रहन आग्रह गरेको छ ।
काठमाडौँका अस्पतालहरुले अब यो भन्दा धेरै भार थेग्न सक्ने अवस्था नरहेको बताउँदै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सामान्य रुघाखोकी लागेका बिरामीलाई अस्पताल नआउन आग्रह गर्नुभयो ।
बिरामीलाई स्वास फेर्न कठिन भएमा, बेहोस भएमा अथवा बेहोस होला होला जस्तो भएमा मात्रै अस्पताल आउन उहाँले आग्रह गर्नुभयो ।
‘सामान्य रुघाखोकी लाग्दैमा ज्वरो आउँदैमा अस्पताल जाने क्रम बढेको छ। कुनैपनि बिरामीलाई श्वासफेर्न गर्न गाह्रो भएमा बेहोस भएमा वा होला जस्तो भएमा पिसाब नभएमा वा कम भएमा त्यस्तो अवस्थामा मात्र अस्पताल जान हामी यहाँहरुलाई अनुरोध गर्दछौँ’, उहाँले भन्नुभयो।
यसअघि नेपालमा कोरोना संक्रमणको सुरुवाती चरणमा सरकारले कोरोना निको नहुँदै अस्पतालबाट बिरामीहरुलाई डिस्चार्ज गर्ने रणनीति अपनाएको थियो भने अब गम्भीर अवस्थामा मात्रै अस्पताल आउन भन्न थालेको छ ।
यता सरकारले अब मुलुकमा देशव्यापी लकडाउन नहुने स्पष्ट पारेको छ । २५ हजार सक्रिय संक्रमित पुगेपछि कोरोना संक्रमण नियन्त्रणमा लिन फेरि लकडाउन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको थियो ।
तर सरकारले भने अब देशव्यापी लकडाउन हुने कुनै सम्भावना नरहेको स्पष्ट पारेको छ । सरकारका प्रवक्ता समेत रहनुभएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले देशव्यापी लकडाउन हुने कुनै सम्भावना नरहेको बताउनुभयो ।
संक्रमण बढी रहेका क्षेत्रमा स्थानीय तहले नै निषेधाज्ञा लगायतको आदेश जारी गर्न सक्ने तर सरकारका तर्फबाट देशव्यापी लकडाउनको सम्भावना अब नरहेको मनत्री ज्ञवालीले जानकारी दिनुभयो ।
स्वास्थ्य मन्त्रालयले दुई साता अघि अब देशमा २५ हजार भन्दा धेरै सक्रिय संक्रमितको संख्या पुगे फेरि लकडाउन गर्नुपर्ने सिफारिस सरकारलाई गरेको थियो । पछिल्लो चौबिस घण्टामा ३ हजार ४ सय ३९ जना संक्रमित थपिएसँगै नेपालमा आज सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको छ ।
सक्रिय संक्रमितको संख्या २५ हजार नाघेसँगै फेरि लकडाउन हुन सक्नेबारे अड्कलबाजी भइरहँदा सरकारले देशव्यापी लकडाउनको सम्भावना अब नरहको स्पष्ट पारेको हो ।
तर काठमाडौँ उपत्यकामा भने संक्रमणको अवस्था डरलाग्दो बन्दै गएकोले अत्यन्त सावधानी अपनाउनुपर्ने बेला आएको सरकारका प्रवक्ता मन्त्री ज्ञवालीले बताउनुभयो । उहाँले काठमाडौँमा संक्रमण रोक्नु नै अहिलेको मुख्य चुनौती रहेको बताउनुभयो ।