काठमाडौं । भएको जमिन बाँझो बस्दै गएपछि ससाना वस्तुहरूमा पनि अरूकै भर पर्नुपर्ने बाध्यता जटिल बन्दै गएको छ । उत्पादन नै नभएपछि कृषिजन्य वस्तुहरूमा समेत परनिर्भर बन्नु परिरहेको छ । खुला सिमाना रहेको भारतीय बजारसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसक्दा यहाँका किसानहरू बेलाबेला आन्दोलित बन्ने गरेका छन् । उनीहरूले आफ्नो उत्पादनलाई सडकमा फालेर समेत विरोध जनाइरहेका हुन्छन् । तर, सरकारले विदेशी उत्पादनलाई निरुत्साहित गरी स्वदेशी उत्पादन प्रतिस्पर्धामा ल्याउने खालको नीति अख्तियार गर्न सकिरहेको छैन । बरु विषादी चेकजाँच नै नगरी खुल्लमखुल्ला तरकारीलगायतका उत्पादनहरू नेपाल भित्रिरहेका छन् ।
मुलुकमा रहेको युवा जनशक्ति विदेशिँदै गएपछि साँझ सानो झोलामा तरकारी, चामल बोकेर खाने वर्ग मात्रै यहाँ रहेको छ । यो अवस्था थप जटिल बन्दै जाने पक्का छ । अर्थविद् एवं राष्ट्रपतिका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले उत्पादन नबढेसम्म वस्तु आयात नघट्ने बताउनु भएको छ । अत्यावश्यक कुरामा समेत परनिर्भरता बढेको भन्दै उहाँले यो सुधार हुन समय लाग्ने बताउनुभयो ।
चालू आर्थिक वर्ष २०८०/८१ को दुई महिनाको अवधिमा वस्तु आयातमा २ खर्ब ५९ अर्ब रुपैयाँ बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौ महिनामा वस्तु आयातबापत साढे दुई खर्ब बढी रकम बाहिरिएको हो । यो गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिको तुलनामा ५.०६ प्रतिशतले कम हो । गत वर्षको साउन र भदौ महिनामा विदेशबाट २ खर्ब ७३ अर्ब रुपैयाँ बाहिरिएको थियो ।
यस्तै, यस अवधिमा नेपालबाट २६ अर्ब ४४ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । यो गत वर्षको यही अवधिको तुलनामा ७.७९ प्रतिशतले न्यून हो । गत वर्षको दुई महिनामा नेपालबाट २८ अर्ब ६८ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो । अर्थविद् एवं पूर्व राष्ट्रिय योजना आयोगका सदस्य जनक शाहले अहिलेको दुई महिनाको तथ्यांकले मात्रै वर्षभरिको स्थिति आंकलन गर्न नसकिने बताउनुभयो । उहाँले उत्पादन कम हुँदा आयात स्वाभाविक बढेको उल्लेख गर्नुभयो ।
आयात र निर्यात नै खुम्चिएसँगै व्यापार घाटा समेत ४.७४ प्रतिशतले खुम्चिएको छ । दुई महिनाको अवधिमा नेपालको व्यापार घाटा २ खर्ब ३३ अर्ब रुपैयाँ छ । गत वर्षको यही अवधिमा नेपालको व्यापार घाटा २ खर्ब ४४ अर्ब रुपैयाँ थियो । आफू आत्मनिर्भर हुनसक्ने क्षेत्रमा समेत राज्यको नीति फितलो हुँदा समस्या विकराल बन्दै गएको छ ।