काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले शिक्षा क्षेत्रलाई ध्वस्त बनाउने षडयन्त्र भइरहेको आरोप लगाउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भण्डारीले शिक्षकहरु सडकमा आउनु नै शिक्षा क्षेत्रलाई ध्वस्त बनाउने षडयन्त्र भएको बताउनुभएको हो ।
यस्तै उहाँले विश्वविद्यालयले समयमा परीक्षा लिएर नतिजा निकाल्न नसक्ने, सीटीईभीटीले एक वर्षसम्म रिजल्ट निकाल्न नसक्ने बनेर विद्यार्थीहरुलाई तिमीहरु नेपालमा नबस भनेको हो भन्दै प्रश्न गर्नुभयो ।
शिक्षकको धेरैभन्दा धेरै माग समाधान गर्ने पक्षमा रहेको बताउँदै उहाँले अहिले सरकारी स्कुल सुधार हुँदै गएको पनि दाबी गनुभयो । शिक्षक सडकमा आउनु खतरनाक कुरा भएको बताउँदै उहाँले शिक्षकलाई असन्तुष्टि बनाएर काठमाडौं उतार्दा यस्को जिम्मेवार कस्ले लिने भन्दै प्रश्न दोहो¥याउनुभयो ।
यस्तै अर्को प्रसंगमा उहाँले नेता डा. शेखर कोइरालाले पार्टीमा भागबन्डा माग्नु स्वाभाविक भएको तर्क गर्नुभएको छ । कोइरालाले पार्टीका भातृसंगठन, विभाग, समिति बनाउँदा मिलाएर गरौं भनेको बताउनुभएको छ ।