काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु प्रकरणमा दोषी देखिएका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई कडा कारबाही गरिने बताउनुभएको छ। इजिप्टको राजधानी कायरोमा सम्पन्न जनसंख्या र विकाससम्बन्धी विश्व सम्मेलनमा भाग लिएर आइतबार(आज) स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री बस्नेतले आफूले ईजिप्टमा रहेका बेला कान्तिको घटनाका बिषयमा थाहा पाएको बताउनुभयो।
घटनाबारे जानकारी पाएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोषन पोखरेललाई फोन गरेर घटनाका बिषयमा छानबिन समिति बनाएर दोषीलाई कडा कारबाही गर्न निर्देशन दिएको बस्नेतको भनाइ छ। मन्त्री बस्नेतले आफूले यस बिषयमा थप बुझेर दोषीमाथि कडा कारबाही गर्न पछि नपर्ने बताउनुभयो।
स्वास्थ्य अवस्था जटिल भएकी एक बालिकालाई आकस्मिक कक्ष बाहिर घण्टौँ राखिएको र उपचार नपाइ ज्यान गएको थियो। उक्त घटनापछि मन्त्रालयको निर्देशनअनुसार कान्ति बाल अस्पतालले घटनाबारे छानबिन गर्न ३ सदस्यीय समिति गठन गरेको छ।
अस्पतालले डा. प्रकाश जोशीको संयोजकत्वमा नर्सिङ अधिकृत अजिता सिलवाल र शाखा अधिकृत डमरु दाहाल सदस्य भएको छानबिन समिति गठन गरेको हो। उक्त समितिलाई भदौ १८ गते सोमबार रातको समयमा अस्पतालको इमरजेन्सी वार्डमा भएको घटनाको सत्यतथ्य पत्ता लगाई ५ दिन भित्र प्रतिवेदन बुझाउन भनिएको छ।
काठमाडौंको बाफल बस्ने मकवानपुर थाहा नगरपालिका– १० की पाँच वर्षीया रेजिशा गोपालीलाई उच्च ज्वरो आएपछि आमा रिता गोपाली र हजुरबा कृष्णबहादुर गोपालीले १८ गते साँझ ५ बजे बजे कान्तिको इमर्जेन्सी कक्षमा पुर्याएका थिए। २ घन्टासम्म कुर्दा पनि उपचार नपाएपछि सोही साँझ ७ः१० बजे रेजिशाको मृत्यु भएको थियो।