काठमाडौं । नेपाली कांग्रेसका नेता सञ्जयकुमार गौतमले तत्काल सरकारको विकल्प नखोजे पनि प्रधानमन्त्रीदेखि आफूहरु व्यक्तिगत रुपमा खुशी नभएको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गौतमले कहिले एमसीसीको विरोधमा बोल्ने, कहिले जातीय संघीयताको पक्षमा बोल्ने र कहिले भ्रष्टाचारमा उन्मुक्ति दिए भनेर बोल्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रवृति गलत भएकाले अहिलेकै गठबन्धनलाई निरन्तरता दिने प्रथम कुरा भए पनि अपयशको भारी कहिलेसम्म बोक्न सकिन्छ भन्दै प्रश्न गर्नुभयो । यस्तै उहाँले आफूहरु प्रचण्डको छायाँजस्तै सँगसँगै भएको पनि स्पष्ट पार्नुभयो ।
यस्तै नेता गौतमले प्रचण्डको काम कारबाहीमा आफ्नो पार्टीका सांसदहरु खुसी नभएको बताउनुभएको छ । प्रचण्डले कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीको पनि मत लिएर प्रधानमन्त्री भएको र आफूहरु पनि उहाँहरुसमेतको मत लिएर सांसद भएको स्मरण गराउँदै सरकारले सुशासनका पक्षमा काम गरेर आम जनतामा आशा जगाउन नसकेको तर्क गर्नुभयो ।
यस्तै अर्को प्रसंगमा उहाँले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको अभिव्यक्ति गलत भएको बताउनुभएको छ । लोकतन्त्रमा वाक् स्वतन्त्रता हुने भए पनि हरेक कुराको सीमा हुने भएकाले बालेनको अराजकता ठीक हो भन्ने प्रश्नै नरहेको तर्क गर्नुभयो ।