Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

मनसुन अवधिमा विपद्का घटनामा परेर ७३ जनाको मृत्यु

मनसुन अवधिमा विपद्का घटनामा परेर ७३ जनाको मृत्यु

  • बिहिवार, भाद्र १४ २०८०

  • 575
    SHARES

  • मनसुन अवधिमा विपद्का घटनामा परेर ७३ जनाको मृत्यु
    काठमाडौं । मुलुकमा यस वर्ष मनसुन अवधि जेठ ३१ देखि भदौ ८ गतेसम्ममा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको मृत्यु भएको छ । मनसुन अवधिमा १०२ जना घाइते हुनका साथै २० जना बेपत्ता भएका छन् ।
     
    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार मनसुन अवधिमा मुलुकका एक सय ३५ ठाउँमा बाढी, चार सय २९ ठाउँमा पहिरो तथा ८३ वटा चट्याङका घटना भएका थिए । 
     
     
    उक्त विपद्का घटनामध्ये बाढीमा परी १२ जनाको मृत्यु, सात घाइते र २१ बेपत्ता भएका थिए । यस्तै पहिरोमा परी ३८ जनाको मृत्यु, ४० घाइते र नौ बेपत्ता भएको कार्यकारी प्रमुख पोखरेलले बताउनुभयो । भारी वर्षाका कारण दुई जनाको ज्यान गयो भने चट्याङबाट २१ जनाको मृत्यु र ४३ घाइते भए ।
     
    यस वर्षको बाढी पहिरोबाट ३२६ दशमलव ८३ मेगावाट क्षमताका निर्माणाधीन १७ तथा सञ्चालनमा रहेका १३२ दशमलव ७५ क्षमताका १३ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । त्यसबाट झण्डै आठ अर्ब ५० करोड क्षति पुगेको अनुमान गरिएको छ ।
     
    मनसुन अवधिमा भएका बाढी पहिरोका घटनाबाट देशका २९ राजमार्गका २५० ठाउँमा ४० करोड बराबरका भौतिक पूर्वाधारमा क्षति भएको तथ्याङ्क छ । मनसुन अवधिमा भएका बाढी पहिरोका घटनाबाट १५ अर्बभन्दा बढी भौतिक पूर्वाधारलगायतका सम्पत्तिको क्षति भएको कार्यकारी प्रमुख पोखरेलले बताउनुभयो ।
     
    मुलुकका विभिन्न स्थानमा चार मोटरेवल पुल र २२ झोलुङ्गे पुल बगाउँदा करिब ४१ करोडको क्षति हुन पुगेको छ । बाढी पहिरोका घटनाबाट २८ खानेपानी आयोजनामा क्षति हुँदा नौ करोड बराबरको नोक्सान भएको प्राधिकरणको अनुमान छ । क्षति पुगेका ती पूर्वाधार तत्काल पुनः स्थापना गर्न १० अर्ब ५५ करोडभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको कार्यकारी प्रमुख पोखरेलले बताउनुभयो। 
     
    यस अवधिमा चट्याङ लागेर ११ स्थानमा, पहिरोबाट सात, पुल क्षतिबाट पाँच र लेदोसहितको पहिरो खस्दा आठ स्थानमा गरी देशका ३१ स्थानमा सडक अवरुद्ध भएका थिए । हाल मुलुकका दुई सय ३१ राजमार्गमध्ये ४८ राजमार्ग एकतर्फीरुपमा सञ्चालनमा रहेको प्राधिकरणले जनाएको छ । 


    बिहिवार, भाद्र १४ २०८००९:२८:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij