काठमाडौं । केही समययता देशका विभिन्न ठाउँमा आँखा पाक्ने रोग फैलिरहेको छ । चिकित्सकीय भाषामा आँखा पाक्ने रोगलाई ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ पनि भनिन्छ ।पछिल्ला दिनमा आँखा अस्पतालहरूमा बिरामी तीन गुणासम्मले बढेका हुन् ।
विशेषगरि समुदायस्तरमा आँखा पाक्ने समस्या प्रकोपका रुपमा देखा परेको छ । बढीजसो बालबालिका र युवामा समस्या देखिएको छ ।
आँखा रोग विशेषज्ञका अनुसार यो रोगको मुख्य लक्षण आँखामा चिप्रा लाग्ने, आँखा सुन्निने, चिलाउने, पोल्ने र रातो हुने आदि रहेका छन्।
‘यो रोग एक व्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्छ । यसले दीर्घकालीन असर भने गर्दैन । तर, कसैमा संक्रमण फैलिएर आँखाको नानीमा पनि जान सक्छ ।
आँखाको नानीमा असर गर्दा घाम तथा उज्यालो प्रकाशमा हेर्न धेरै नै गाह्रो हुन्छ । आँखाको नानीमा दाग तथा फुलो बस्ने समस्या पनि रहन सक्छ ।
चिकित्सकका अनुसार समयमै उपचार गरे यो रोग सजिलै निको हुन्छ । आँखा पाक्ने रोग देखिएपछि एक देखि दुई हप्तामा आफैं कम हुँदै जान्छ । कसै–कसैमा लामो समयसम्म पनि रहन सक्छ ।
चिकित्सकका अनुसार आँखा पाक्ने समस्या जोसुकैलाई देखिन सक्छ । किनकी, एडिनो भाइरस बढी संक्रामक हुन्छ र एक व्यक्तिबाट अर्कोमा सजिलैसँग सर्न सक्छ ।
विद्यालय, कलेज लगायत धेरै भिडभाड हुने ठाउँहरुमा यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्छ । सजिलै सर्ने भएकाले यसले घरको सबै सदस्यलाई संक्रमित पनि गराउन सक्छ । तर आँखा पाकेको मानिसमा हेर्दैमा रोग नसर्ने डाक्टरहरु बताउछन्।
चिकित्सकका अनुसार संक्रमण भएको व्यक्तिले आँखा छोएर टेबल, मेच, लुगा वा अन्य व्यक्तिलाई छुँदा संक्रमण फैलिन सक्छ ।
‘आँखा पाक्ने एउटै माध्यम भनेको आँसुबाट नै हो । त्यसकारण पाकेको आँखा छुन हुँदैन । छोइहाले पनि हातलाई साबुनपानीले धुने र स्यानिटाइजर प्रयोग गर्नुपर्ने डा सिमान्त खड्काको भनाई छ ।
आँखा पाक्ने रोग लागेमा नजिकको आँखा उपचार केन्द्र वा अस्पतालमा जाँच गराउन डाक्टरहरुले सुझाव दिएका छन् । त्यसपछि चिकित्सक वा विशेषज्ञले दिएको औषधि मात्र आँखामा हाल्नुपर्ने उनी बताउँछन् । कसै कसैले आँखामा संक्रमण हुनुपुर्व नै औषधी लगाउने पनि गरेका छन् । तर आँखामा जे पायो त्यहि औषधी नराख्न सरुवारोग बिशेषज्ञ डाक्टर शेर बहादुर पुन सुझाव दिनुहुन्छ ।
घरमा खानेपानीलाई बरफ बनाएर त्यसले आँखा सेकाउन पनि मिल्छ । एउटा आँखामा प्रयोग गरेको बरफ अर्कोमा प्रयोग गर्नु भने हुँदैन ।
देशभर आँखाको संक्रमण बढ्दा औषधिको अभाव भएको पनि गुनासो आउने गरेको छ। तर स्वास्थ्य सचिव रोशन पोखरेल आँखाको औषधिको अभाव नभएको बताउनुहुन्छ ।
आँखा पाकेका मानिसले आँसु पुछ्दा ‘डिस्पोजेबल टिस्यु’ हरूको प्रयोग गर्नुपर्छ । आँखा पाक्ने रोग लागेमा आँखा नमाड्न, पानी नछ्याप्न, जथाभावी औषधिको प्रयोग नगर्न, घरबाहिर जाँदा कालो चस्मा प्रयोग गर्न चिकित्सकहरुले सुझाव दिएका छन् ।