काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्ने नबस्नेबारे अन्योल सिर्जना भएको छ । चारजना केन्द्रीय सदस्यसँगै केन्द्रीय कार्यालयका दुई कर्मचारीमा संक्रमण देखिएपछि भोली सोमवारका लागि बोलाईएको बैठकबारे अन्योल सिर्जना भएको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्यसमिति बैठकका बारेमा दिउँसो नेताहरुका बीचमा छलफल भएपछि मात्रै टुंगो लाग्ने बताउनुु भएको छ ।
आशन्न १४ औं महाधिवेशनको तयारीका बारेमा छलफल गर्न कांग्रेसले सोमबार दिउँसो २ बजे बस्ने गरी पार्टीको केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।
बैठकलाई मध्यनजर गर्दै कांग्रेसले बिहीबार पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र केन्द्रीय कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको कोरोना परीक्षण गराएको थियो ।
यसैबीच, केन्द्रीय कार्यसमिति बैठकको पूर्वसन्ध्यामा बोलाएको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक भने स्थगित भएको छ । आज बिहान ९ बजे बोलाइएको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक स्थगित गरिएको हो ।
केन्द्रीय कार्यसमिति बैठकका एजेन्डाबारे छलफल गर्न कांग्रेसले आज बिहान ९ बजे केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बोलाएको थियो ।