काठमाडौं । प्रदेश –५ को राजधानी दाङ देउखुरीको भालुवाङलाई बनाउने प्रदेशसभामा पेस भएको प्रस्तावमा नेकपाकै सांसदले असन्तुष्टि व्यक्त गर्दै नोट अफ डिसेन्ट लेखेका छन् ।
आजको बैठकमा सहभागि नेकपाका नेताहरूले प्रस्तावमाथि असन्तुष्टि जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेखेको बैठकमा सहभागि एक सांसदले बताएका छन् ।
संसदीय दलको बैठकमा रुपन्देही, पाल्पा, गुल्मी र कपिलवस्तुका केही सांसदले प्रस्तावको विपक्षीमा रहेको भन्दै ‘नोट अफ डिसेन्ट’ लेखेका हुन् ।
रूपन्देहीका भोजप्रसाद श्रेष्ठ, डा. कृष्ण न्यौपाने, दधिराम न्यौपाने, तुल्सी चौधरी, कमला विक दीपा विक, विमला पन्थी, थानकुमारी थापालगायतका १६ जना संसदले नोट आफ डिसेन्ट लेखेका छन् ।
त्यसैगरी, प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी दाङ देउखुरी बनाउने प्रस्ताव प्रदेशसभामा पेस गरेको विरोधमा नेपाली कांग्रेसले आइतबार रूपन्देही बन्द गर्ने निर्णय गरेको छ ।
आज बुटवलमा बसेको कांग्रेसको बैठकले १९ वटै वडामा आज साँझ राँके जुलुस गर्ने र आइतबार रूपन्देही बन्द गर्ने निर्णय गरेको हो ।
कांग्रेस रूपन्देहीको बुटवलमा बसेको बैठकले विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै युवा, विद्यार्थी तथा उद्योगी व्यवसायीसँग छलफल अगाडि बढाएको छ ।
आज राँके जुलुस, आइतबार रूपन्देही बन्द तथा नेकपाका सांसदका घर अगाडि कालो झण्डा प्रदर्शन, १९ गतेदेखि प्रदेशसभा घेराउ लगायतका कार्यक्रम गर्ने निर्णय भएको कांग्रेस नगर सभापति खेलराज पाण्डेयले जानाकारी दिनुभयो ।