काठमाडौं । विश्वस्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) को दक्षिण पूर्वी एशिया क्षेत्रको क्षेत्रीय निर्देशकमा नेपालका तर्फबाट डा. शम्भुप्रसाद आचार्यले उम्मेदवारी दिनुभएको छ । नेपाल सरकार परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्रसङ्घलाई गत जुलाई २३ मा पत्राचार गर्दै क्षेत्रीय निर्देशक पदमा आचार्यको उम्मेदवारीबारे जानकारी गराएको हो ।
दक्षिण पूर्वी एशिया क्षेत्रमा नेपालसहित ११ राष्ट्र छन् । उक्त पदमा नेपालबाट आचार्यसँगै बङ्गलादेशबाट पनि उम्मेदवारी परेको छ ।
नेपाल सरकार परराष्ट्र मन्त्रालयले क्षेत्रीय निर्देशक पदमा आचार्यको उम्मेदवारी दर्ता गराउँदै नयाँ दिल्ली, ढाका, कोलम्बो र बैंककमा रहेका नेपाली राजदूतावासलाई समर्थन जुटाउनका लागि पत्राचारसमेत गरिसकेको छ । दक्षिण पूर्वी एशियामा नेपाल र बङ्गलादेशसँगै भुटान, दक्षिण कोरिया, भारत, इन्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलङ्का, थाइल्याण्ड र टिमोर–लिस्टे राष्ट्र छन् ।
आचार्य विगत ३० वर्षदेखि विश्व स्वास्थ्य सङ्गठन अन्तर्गत स्वास्थ्य नीति, कार्यक्रम तथा बजेटसँग सम्बन्धित महत्त्वपूर्ण जिम्मेवारीमा रही काम गर्दै आउनुभएको छ। आचार्यसँग लामो समयदेखि स्वास्थ्य क्षेत्रमा स्थानीय, राष्ट्रिय तथा बहुपक्षीय सार्वजनिक स्वास्थ्य प्रणालीमा काम गरेको अनुभव पनि छ ।
साथै कोरोना महामारी, प्राकृतिक प्रकोपलगायतका विपद्बाट भविष्यमा उत्पन्न हुनसक्ने समस्या समाधानका लागि बलियो स्वास्थ्य सेवाको सुनिश्चितता उपलब्ध गराउनु पनि आफ्नो प्राथमिक रहेको उहाँको भनाइ छ ।
त्यसैगरी ‘वान डब्ल्यूएचओ’ अभियानअन्तर्गत राष्ट्रिय–क्षेत्रीय–मुख्यालयबीचको प्रभावकारी सञ्चारमार्फत स्वास्थ्य सेवाको पहुँचलाई अधिकारमुखी, जनमुखी, लैङ्गिक उत्तरदायित्व बनाउनु आवश्यक रहेको उहाँको भनाइ छ । यसका लागि स्वास्थ्य सेवाको सुदृढीकरणका लागि सशक्तीकरण, लैङ्गिक उत्तरदायित्व, समावेशीका लागि सरोकारवालाको सहकार्यमा जोड दिनुपर्नेमा उहाँको भनाइ छ ।
डा.आचार्यले आफूले विश्वस्वास्थ्य सङ्गठनमा आबद्ध भई करिब तीन दशकयता विभिन्न जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरेको तथा आगामी दिनमा पनि क्षेत्रीय निर्देशकका रुपमा काम गर्न अब्बल भएकाले आफूले उम्मेदवारी दिएको बताउनुभयो ।
उहाँले दीगो विकासले लिएका स्वास्थ्यसम्बन्धी लक्ष्य पूरा गर्न दक्षिण पूर्वी एशियाका सदस्य राष्ट्रका लागि बजेटसँगै जनशक्तिको पनि अभाव रहेको भन्दै त्यसतर्फ पनि काम गर्नुपर्ने बताउनुभयो । दीगो विकासले स्वास्थ्य क्षेत्रको विकासका लागि लिएका लक्ष्य पूरा गर्नका लागि सन् २०३० सम्ममा विश्वव्यापी रुपमा एक करोड ८० लाख सबै प्रकारका स्वास्थ्य जनशक्ति आवश्यक छ ।
दक्षिण पूर्वी एशियाका सदस्य राष्ट्रमा सरुवा रोगको नियन्त्रण तथा उन्मूलन गर्नु जरुरी रहेको तथा नसर्ने रोगहरूको बढ्दो सङ्क्रमण चुनौतीका रुपमा देखिएको बताउनुभयो ।
उहाँले यसका लागि जनतामा चेतना जगाउनेदेखि रोकथाम तथा उपचार क्षमतालाई बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले आर्थिक रुपमा कमजोर समुदायमा निःशुल्क स्वास्थ्य सेवाको पहुँच सुनिश्चितता पनि आवश्यक रहेको धारणा राख्नुभयो।