काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका चीनको सीपीसी केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव यान च्याचिनले सभामुख देवराज घिमिरेसँग भेटवार्ता गर्नुभएको छ ।
काठमाडौंमा सोमबार भएको भेटमा द्विपक्षीय सम्बन्ध, आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिक, धार्मिक आदानप्रदान लगायतका विषयमा छलफल भएको छ । भेटमा सभामुख घिमिरेले चीनले नेपाललाई उच्च महत्त्व दिँदै उपल्लो स्तरको भ्रमण गर्दै आएकोमा आभार व्यक्त गर्नुभयो ।
‘सन् २०१९ मा राष्ट्रपति सी चिनफिङको भ्रमणपछि उपल्लो स्तरको भ्रमण हुँदै आएको छ,’ उहाँले भन्नुभयो, ‘द्विपक्षीय राजनीतिक भ्रमणले नेपालको विकास र समृद्धिमा सहयोग पुग्ने विश्वास लिएको छुँ।’
सभामुख घिमिरेले नेपाल सुन्दर र विश्वकै आकर्षक मुलुक रहेको बताउँदै चीनको सानो सहयोगले पनि समृद्धिका लागि सहयोग पुग्ने उल्लेख गर्नुभयो। उहाँले संविधान निर्माणसँगै नेपालले स्थायित्व र विकासमा प्रगति हासिल गरिरहेको बताउँदै तत्कालीन केपी शर्मा ओली सरकारले गरेको पारवहन सन्धि र रसुवागढी–केरुङ रेल मार्गको विकासका लागि जोड दिनुभयो ।
हिमाल र नदी तथा धर्म र संस्कृतिले जोडिएका चीन र नेपालबीच प्रागैतिहासिक कालदेखि नै सुमधुर सम्बन्ध रहँदै सभामुख घिमिरेको भनाइ छ ।
जन गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष ली चानशुको गएको वर्ष भएको भ्रमण र नेपालको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको एक महिना अघि भएको भ्रमणले संसदीय आदान प्रदान विस्तारित हुँदै गएको सभामुख घिमिरेको भनाइ छ ।