काठमाडौं। पछिल्लो समय डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका अनुसार ६८ जिल्लाबाट दुई हजार ९३० जनामा डेङ्गु पुष्टि भएको छ। एक जनाको मृत्यु भएको छ । सङ्क्रमण बढेसँग सुरक्षाका उपाय अप्नाउन सुझाव दिइएको छ।
डेङ्गु पुष्टि कोशी प्रदेशमा सबैभन्दा बढी छ। सोही प्रदेशमा एक हजार ७४६ जनामा डेङ्गु पुष्टि भएको छ।त्यसैगरी, बाग्मती प्रदेशमा ४६८ जना, सुदूरपश्चिम प्रदेशमा २७९, गण्डकी प्रदेशमा २६९, लुम्बिनी प्रदेशमा १३४, कर्णाली प्रदेशमा १८ र मधेष प्रदेशमा १६ जनामा डेङ्गु पुष्टि भएको छ।
सङ्क्रमितमध्ये ८२ प्रतिशत डेङ्गु सङ्क्रमित १० जिल्लाबाट छन्।१० जिल्लाबाट दुई हजार ४११ जनामा डेङ्गु पुष्टि भएको छ। जिल्लाअनुसार सुनसरी एक हजार ५७१, धार्दिङ २५८,दार्चुला १८८,कास्की १५९ सङ्खुवासभा ५८, काठमाडौं ४६, कञ्चनपुरबाट ३९,भक्तपुर ३५,म्याग्दीबाट ३५ झापाबाट ३२ जनामा डेङ्गु पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक शुक्रबार बिहान साढे १० बजे सबै कर्मचारी सहभागी भई सरकारी तथा सार्वजनिक कार्यालय हाताभित्र र वरपर सरसफाइ अभियान सञ्चालन गर्न निर्देशन दिएको छ। चिकित्सकका अनुसार डेंगुको ज्वरो एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो।
ज्वरो आउने, मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउको दुख्नु, शरीरमा रातो बिमिरा आउनु, वाकवाकी लाग्नु, वान्ता हुनु डेंगुका प्रमुख लक्षण हुन्। चिकित्सकका अनुसार डेङ्गु सङ्क्रमणबाट बच्ने एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो।
त्यसैले लामखुट्टेको टोकाइबाट बच्न सधैँ झुल टाँगेर सुत्ने, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउने, घरको झ्याल ढोकामा जाली हाल्ने, सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्ने। घरपालुवा पशुपंक्षी व्यवस्थित ढङ्गले पाल्ने, घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने ।