रोल्पा । रोल्पा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। शनिबार एक कार्यक्रमकाबीच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्लाको रूपमा रोल्पालाई घोषणा गरिएको हो।रोल्पा जिल्लामा रहेका १० वटै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषण गरिसकेपछि जिल्लामा पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। रोल्पा जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा कार्यक्रम जिल्ला खोप समन्वय समिति रोल्पाका प्रमुख एवं जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सिता आचार्यको अध्यक्षतामा र लुम्बिनी प्रदेश सभा सदस्य दीपेन्द्र कुमार पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
राष्ट्रिय खोप तालिका बमोजिम खोप लगाएका प्रत्येक वर्ष झैं यस वर्षको वार्षिक कार्यक्रम अनुसार रोल्पामा चालु आर्थिक वर्षमा गत माघ महिना देखि ‘खोज र खोप अभियान’ सञ्चालनगरी राष्ट्रिय खोप तालिका बमोजिम खोप लगाएका ५ वर्ष मुनिका खोप लगाउन छुट भएका बालबालिकाको पहिचान गरी खोप लगाई रोल्पा जिल्लाका दश वटै स्थानीय तहमा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको जिल्ला खोप समन्वय समितिका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख विशाल सुवेदीले जानकारी दिनुभयो ।
रोल्पा जिल्लाको स्थानीय तहहरूले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा कार्यक्रम सम्पन्न गरिसके पश्चात् पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गर्नेमा त्रिवेणी गाउँपालिका र सुनिल स्मृति गाउँपालिकामा जेठ १६ गते, लुङ्ग्री गाउँपालिकामा जेठ १९ गते, रोल्पा नगरपालिका र रुन्टीगढी गाउँपालिकामा जेठ २० गते, सुनछहरी गाउँपालिकामा जेठ २१ गते, थवाङ गाउँपालिकामा जेठ २५ गते, परिवर्तन गाउँपालिकामा जेठ २६ गते, माडी गाउँपालिका जेठ २८ गते र गंगादेव गाउँपालिकामा जेठ ३१ गते सम्पन्न गरेका थिए।
जिल्लाभर १५ महिना भित्रका ५ हजार २ सय ७७ जना बालबालिकाहरूले खोप लगाइएको थियो भने ५ वर्ष मुनिका १३ हजार ६ जना बालबालिकाले पूर्ण खोप पाएको स्वास्थ्य कार्यालय रोल्पाका सूचना अधिकृत कृष्ण प्रसाद पोख्रेलले जानकारी दिनुभयो।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहनु भएका लुम्बिनी प्रदेश सभा सदस्य दीपेन्द्र कुमार पुनले बालबालिकाहरूलाई भविष्यमा कुनै प्रकारको रोग लाग्न नदिनको लागि समयमै खोप लगाउन अति आवश्यक रहेको कुरा बताउनुभयो।
वर्तमान समयमा विश्वमा जैविक रोगको प्रकोपले समय–समयमा प्रकृतिलाई चुनौती दिइरहेको कुरा व्यक्त गर्दै विभिन्न महामारी रोगको प्रकोप अन्त्य भएको साथै महामारी रोगको रोकथामको लागि समेत खोपले ठुलो सहयोग गरेको छ,पुनले भन्नुभयो । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य पुनले नेपाललाई सन् २०२८ सम्ममा पूर्ण सरसफाइ युक्त नेपाल घोषणा गर्नुपर्ने तर हालसम्म गाउँपालिका तथा जिल्लालाई समेत पूर्ण सरसफाइ घोषणा गर्न नसकेको बताउनुभयो । उहाँले नेपाललाई २०३० सम्ममा पुग्दा गरिबी बाट माथि उठेर मध्यम वर्गको रुपमा स्थापित हुनुपर्ने कुरा बताउनुभयो।
कार्यक्रममा लुङ्ग्री गाउँपालिकाको अध्यक्ष भरत कुमार थापा,रोल्पा नगरपालिका उपप्रमुख गीता आचार्य,प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, नेपाली कांग्रेस रोल्पाका पार्टी सभापति किशोर कुमार आचार्य, नेकपा एमाले पार्टीका सचिवालय सदस्य प्रताप घर्ती,नेकपा माओवादी केन्द्र रोल्पाका अध्यक्ष गुणेन्द्र घर्ती,नेकपा एकीकृत समाजवादी पार्टी रोल्पाका अध्यक्ष टंक बहादुर पुन,नेकपा रोल्पाका रोल्पा नगरपालिका इन्चार्ज लाल बहादुर सुनार लगायतले कार्यक्रममा मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्ती,सुनछहरी गाउँपालिका अध्यक्ष धन बहादुर पुन, सुनिल स्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकी, थवाङ गाउँपालिकाको अध्यक्ष ऋषिकेशव बुढा, त्रिवेणी गाउँपालिका अध्यक्ष कर्ण बहादुर बाँठा, सुनिलस्मृती गाउँपालिका उपाध्यक्ष मिना थापा, लुङ्ग्री गाउँपालिका उपाध्यक्ष दिलकुमारी गुरुङ,परिवर्तन गाउँपालिका उपाध्यक्ष कलादेवी खत्रिनी,माडी गाउँपालिका उपाध्यक्ष जयपुरी घर्ती,विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य संयोजक,नेपाल पत्रकार महासंघ रोल्पाका सचिव लोकेन्द्र चन्द,संस्थापक सभापति काशीराम डाँगी,पूर्व अध्यक्ष खेम बुढा,लगायत अन्य विभिन्न मिडियामा आबद्ध क्रियाशील पत्रकार, खोप समन्वय समितिका पदाधिकारी, विभिन्न वडाका वडा अध्यक्ष, विभिन्न स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका,आमा समूह लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा रोल्पा जिल्ला पुर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको प्रतिवेदन जिल्ला खोप समन्वय समिति रोल्पाका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय रोल्पाका कार्यालय प्रमुख विशाल सुवेदीले प्रस्तुत गर्नुभएको थियो । जिल्ला समन्वय समिति रोल्पाका उपप्रमुख तथा जिल्ला खोप समन्वय समिति रोल्पाका सदस्य कर्मलाल परियारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय रोल्पाका जनस्वास्थ्य अधिकृत कृष्ण प्रसाद पोख्रेलले गर्नुभएको थियो।