काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले मिटरब्याज सम्बन्धी विधेयक पारित गर्न आफ्नो दल तयार रहेको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता लेखकले प्रतिपक्षी दलहरुसँगको सहमतिमा आवश्यक कुरामा परिमार्जन गरेर जानसमेत तयार हुनुपर्ने कुरामा जोड दिनुभएको छ ।
ब्याजलाई साँवामा जोड्ने, हुँदै नभएको व्यवहारको कागज गर्ने र कम पैसा दिएर कागजमा बढी पैसा लेख्ने गर्दा तराई मधेस प्रदेशमा धेरै पीडित धेरै रहेकाले यसमा एमाले, स्वतन्त्र पार्टी, राप्रपा लगायत विपक्षी बेन्चमा बसेका दलहरुलाई समेत सहमतिमा ल्याएर पूर्ण बैठकबाट पारित गर्नुपर्छ भन्ने आफूहरुको धारणा रहेको नेता लेखकले स्पष्ट पार्नुभयो ।
यस्तै उहाँले मिटरब्याज सम्बन्धी नयाँ विधेयक ल्याउनुपर्छ भन्ने आफूलाई नलागेको तर्क गर्नुभएको छ ।
पीडितहरु मधेसबाट पैदल हिँडरै काठमाडौं आएको बिर्सनै नहुने बताउँदै उहाँले ससाना प्राविधिक, कानुनी र प्रक्रियागत कुरामा अलमलिएर पीडितलाई थप पीडा दिन नहुने कुरामा जोड दिनुभयो ।
यस्तै अर्को प्रसंगमा उहाँले कांग्रेसको संसदीय दलका नेता परिवर्तनको तत्काल आवश्यकता र सम्म्भावना नदेखेको बताउनुभएको छ ।