काठमाडौं । प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसदहरूले लम्पिस्किन रोगदेखि बालुवाटार जग्गा प्रकरण, मिटरब्याज र जातीय भेदभाव लगायतका विषयमा आवाज उठाएका छन् ।
आज प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले लम्पिस्किन रोगको रोकथामका लागि सरकारले उदासीनता देखाएको बताउनुभएको छ ।
प्रमुख सचेतक गिरीले लम्पिस्किन रोग नियन्त्रणका लागि सरकार उदासीन भएको बताउनुभएको हो । उहाँले लम्पिस्किन रोगबाट किसानहरूलाई ३७ अर्ब बराबरको क्षति भइसकेको भन्दै अझैपनि पशुहरूलाई प्रभावकारी ढंगले खोप लगाउन नसकिएको बताउनुभयो । उहाँले गाउँगाउँमा प्राविधिकहरू समेत पठाउन नसकेको भन्दै सरकारलाई यसप्रति ध्यानाकर्षण गराउनुभयो । उहाँले बजेट अभाव भएमा निर्वाचन क्षेत्र विकास कोषबाट रकमान्तर गरेर भएपनि नियन्त्रणका लागि लाग्नुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बालुवाटार जग्गा प्रकरणका मूल पात्रहरूलाई कारबाही गर्न माग गर्नुभयो । उहाँले व्यापारी र साना कर्मचारीलाई मात्रै सरकारले ध्यान दिएको भन्दै ठूला माछाहरूलाई पनि कारबाही गर्न माग गर्नुभयो ।
नेकपा(माओवादी केन्द्र)का सांसद रणेन्द्र बरालीले दलित समुदायप्रतिको ज्यादतीले सीमा नाघेको बताउनुभयो । उहाँले दलित समुदायका व्यक्तिले अन्तरजातीय विवाह गरेमा विभिन्न झुटा मुद्दा लगाएर फसाउने गरिएको भन्दै उसप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले यस्ता घटना घट्न नदिन संसदीय विशेष समिति नै आवश्यक परेको बताउनुभयो । त्यस्तै जातीय भेदभाव तथा कसुर सजाय ऐन २०६८ लाई निर्भीक कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकको कार्यसूचीमा मिटरब्याज सम्बन्धी विधेयक नआएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले संसद्को आगामी बैठकमा मिटरब्याज सम्बन्धी विधेयक नल्याएमा संसद् बैठक चल्न नदिने चेतावनी दिनुभयो । उहाँले आफूहरू मिटरब्याज पीडितको पक्षमा रहेको बताउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले दलित समुदायका व्यक्तिहरूलाई राज्यको सर्वोच्च निकायमा पुर्याउनुपर्ने बताउनुभयो । उहाँले दलित समुदायका व्यक्ति देशको प्रधानमन्त्री नभएसम्म जातीय छुवाछुत अन्त्य नहुने धारणा राख्नुभयो ।
जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले तराई, मदेसमा खेतीयोग्य जमिनमा सिँचाइ नपुगेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सरकारले आफ्नो आँखा मधेसमा पनि पुर्याउनुपर्ने बताउनुभयो ।
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले राष्ट्रपतिले आफ्नो उपचार खर्च आफैँले व्यहोर्ने बताएको भएपनि अर्थ मन्त्रालयसँग उपचार खर्च मागेको भन्दै विरोध गर्नुभयो । उहाँले ललिता निवास जग्गा प्रकरणमा प्रधानमन्त्री र मन्त्रीहरूलाई पनि कारबाही गर्नुपर्ने बताउनुभयो ।
आम जनता पार्टीका सांसद प्रभु शाहले गएराति रौतहटमा एक युवाको हत्या भएको भन्दै हत्यारालाई कारबाहीको माग गर्नुभयो । उहाँले बालाजु र कालीमाटीको तरकारी बजारको सटर गैरकानूनी रुपमा भाडामा लगाइएको भन्दै यसप्रति कृषिमन्त्रीको जवाफ माग गर्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद रोशन कार्कीले लम्पिस्किन रोग नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेकपा(एमाले)का सांसद ठाकुरप्रसाद गैरेले नेकपा(एमाले)ले अवरोध गरेको संसद् खोले पनि संसद् बैठक चलाउन सरकार पक्ष तयार नभएको बताउनुभयो । उहाँले अवरोध खोलेकै दिनदेखि संसद् बैठक किन पछि धकेलेको भन्ने प्रश्न गर्नुभयो ।