काठमाडौं । वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदरमा गर्दै आएको भद्र सहमति तोडेका छन् । नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले भद्र सहमति तोडेर बैंकले आफै निक्षेपको ब्याजदर तय गर्ने सहमति गरेको हो ।
‘तरलताको अवस्था सहज भएकाले अब साउनदेखि लागू हुनेगरी बैंकहरुले आफैले निक्षेपको ब्याजदर तोक्ने सहमति भएको छ’ नेपाल बैंकर्स एसोसिएसनका उपाध्यक्ष तथा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाले भन्नुभयो।
हाल बैंकहरुमा नगद थुप्रिएपछि ब्याजदरमा भद्र सहमति जरुरत नरहेको ठहर गर्दै संघको बैठकले स्वतन्त्र छाडेको हो । हालसम्म वाणिज्य बैंकहरुले संघमार्फत निक्षेपको ब्याजदर निर्धारण गर्दै आएकाले अधिकांश बैंकको ब्याजदर उस्तै छ । वाणिज्य बैंकहरुले हाल व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.९ प्रतिशतसम्म ब्याजदर दिँदै आएका छन् । धेरै बैंकले यहीं दर कायम गरेका छन् ।
अब बैंकहरुले साउन महिनाका लागि योभन्दा बढी वा कम ब्याजदर तोक्न सक्ने छन् । यसअघि अर्थमन्त्री प्रकाशशरण महतले सार्वजनिक कार्यक्रममै बैंकहरुबीच स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने बताउँदै आउनुभएको थियो ।