काठमाडौं । राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले नेपालमा थप विश्वविद्यालय आवश्यक नरहेको बताउनुभएको छ ।
सोमबार राष्ट्रियसभा बैठकमा ‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले वित्तीय र भौतिक पूर्वाधार केही पनि नभएकाले अहिले नेपाल विश्वविद्यालय खोल्न आवश्यक नरहेको तर्क गर्नुभयो ।
उहाँले नयाँ शिक्षा नीति ल्याउन र सोको आधारमा मात्रै थप विश्वविद्यालय नेपालमा आवश्यक छ, छैन भन्ने कुराको निष्कर्षमा पुग्न पनि सरकारलाई सचेत गराउनुभयो।
‘प्रदेशले पनि धमाधम विश्वविद्यालय बनाउने अनि नेपाल सरकारले पनि धमाधम विश्वविद्यालय बनाउने कामहरु नहोस् भन्ने मेरो अनुरोध हो । र, के, कति विश्वविद्यालय आवश्यक छ ? सबभन्दा पहिलो एउटा शिक्षा नीति ल्याऊ । अनि, उच्च शिक्षासम्बन्धि एउटा छाता ऐन पनि ल्याऊ । शिक्षा नीति, छाता ऐनलाई टेकेर विश्वविद्यालय थप आवश्यक छ भने बनाऔं भनेर मैले पटकपटक भनेको छु’, उहाँले भन्नुभयो।
सांसद देवकोटाले प्लस टू पास गरेपछि विद्यार्थीहरु धमाधम विदेश जाने, तर यहाँ विश्वविद्यालय खोल्ने कुरा परस्पर विरोधी भएकाले यसतर्फ पनि सरकार गम्भीर हुुनुपर्ने बताउनुभयो ।