काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न बिक्री डिपोहरूमा ७१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताउनुभएको छ। शुक्रबार(आज) प्रतिनिधिसभा बैठकमा प्रतिनिधि सभा सदस्य अब्दुल खानको प्रश्नको जवाफ दिँदै प्रचण्डले गत वर्षको साउन महिनादेखि हालसम्म ३ लाख ५१ हजार टन रासायनिक मल आयात भएको बताउनुभयो ।
उहाँले सोमध्ये ७१ हजार टन रासायनिक मल विभिन्न डिपोमा मौज्दात रहेको बताउनुभयो । यही महिनाभित्र भारतको कलकत्ताबाट ४५ हजार टन डीएपी मल आउने प्रचण्डको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले यो वर्ष धान रोप्ने सिजनमा विगतको जस्तो मल अभाव नहुने दाबी गर्नुभएको छ ।
‘रासायनिक मलको आपूर्ति व्यवस्था विगतका वर्षमाभन्दा सुदृढ भएको जानकारी गराउन चाहन्छ’ उहाँले भन्नुभयो, ‘रासायनिक मलका लागि १५ अर्ब विनियोजन भएपनि थप २३ अर्बको स्रोत सुनिश्चित गरी मल आपूर्ति व्यवस्थालाई सुदृढ गरिएको छ ।’ मलको आयातमा संघीय मन्त्रालयलाई जिम्मेवार बनाइएको र वितरण कार्यमा प्रदेश र स्थानीय तहहरूलाई परिचालन गरिएकाले सहजता भएको उहाँको भनाइ छ । मल वितरण प्रणालीलाई पारदर्शी बनाउन आपूर्ति र वितरणमा डिजिटल प्रणाली प्रयोगमा ल्याइएको प्रचण्डले बताउनुभयो ।