काठमाडौं । सभामुख देवराज घिमिरेसँग नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले भेटवार्ता गर्नुभएको छ। सभामुखको कार्यकक्ष सिंहदरबारमा बिहीबार(आज) भएको शिष्टाचार भेटमा नेपाल–उत्तर कोरिया द्विपक्षीय सम्बन्ध विस्तार, संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको छ ।
भेटमा सभामुख घिमिरेले दुवै देशबीच विभिन्न समयमा भएका संसदीय आदान प्रदान एवं भ्रमणहरूको स्मरण गर्नुभएको थियो । उहाँले निकट दिनहरूमा नै नेपालले नेपाल–उत्तर कोरिया संसदीय मैत्री समूह गठन गर्ने जानकारी दिनुभयो। सभामुख घिमिरेले नेपालले कोरियाली प्रायद्वीपमा भएका घटनाक्रमलाई चासोका साथ नजिकबाट नियालिरहेको बताउँदै आफ्नो मुलुक कोरियाली शान्ति, एकता र स्थायित्वको पक्षमा रहेको उल्लेख गर्नुभयो । उहाँले सांसदहरूमार्फत दुई देशका जनताबीचको सम्बन्ध स्थापना गर्नुपर्नेमा जोड दिनुभयो।
भेटमा नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले आफ्नो देशको सर्वोच्च जनसभा (संसद्) ले नागरिकका जनअधिकार र नागरिक स्वतन्त्रताको रक्षाका लागि कानुनहरू निर्माण गर्दै गएको जानकारी गराउनुभएको थियो । साथै उहाँले बालबालिका सम्बन्धी कानुन पारित भएसँगै निःशुल्क शिक्षाको अधिकार ग्यारेन्टी भएको बताउनुभएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभयो । सन् १९७४ मा नेपाल र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाबीच कूटनैतिक सम्बन्ध स्थापना भएयता दुई देशहरू बीचको सम्बन्ध मैत्रीपूर्ण रुपमा अगाडि बढिरहेको छ ।