काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले धरानका मेयर हर्क साम्पाङ र काठमाडौंका मेयर बालेन शाहलाई पार्टीमा जोड्न सके असाध्यै राम्रो हुने बताउनुभएको छ।
पार्टी स्थापना दिवसको अवसरमा बिहीबार(आज) आयोजित कार्यक्रममा पत्रकारको प्रश्नको जवाफ दिँदै लामिछानेले उनीहरूलाई जोड्न आफू सकारात्मक भएको बताउनुभयो।
‘हर्क र बालेनलाई जोड्न सके त राम्रो हुन्थ्यो। त्यस्ता साथीहरूलाई हामीले जोड्न सके त असाध्यै राम्रो हुन्थ्यो। त्यो त हाम्रो चाहना छँदैछ। अन्य साथीहरूले पनि त्यसैगरी सोचिदिनुभयो भने हाम्रो तर्फबाट त हामी एक सय प्रतिशत सकारात्मक छँदैछौँ नि,’ उहाँले भन्नुभयो ।
लामिछानेले हर्क र बालेनसँग सौहार्द्रपूर्ण सम्बन्ध रहेको बताउनुभयो। उनीहरूको कामको पनि आफूले निरन्तर प्रशंसा गरेको उहाँले बताउनुभयो।
‘चुनाव लड्दादेखि सघाएदेखि अहिलेसम्म सघाउने कुरामा निरन्तरता दिएकै जस्तो लाग्छ। त्यो आफैंमा एउटा राम्रो संकेत बन्न सक्यो र त्यो हुन सकेछ भने हाम्रो लागि चाहिँ खुसीको कुरा हुन्छ,’ उहाँले भन्नुभयो।