काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले योग र ध्यानको विषयलाई प्राथमिक तहदेखि नै विद्यालय र विश्वविद्यालयसम्म पाठ्यक्रममा समावेश गर्ने उद्देश्य राखेको बताउनुभएको छ ।
बुधबार (आज) काठमाडौंमा अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले योग र ध्यानको महत्त्व, परम्परा र विरासतलाई आत्मसाथ गरेर नै सरकारले यस्तो निर्णय लिएको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले यो निर्णयले आध्यात्मिक चिन्तनको महत्त्वलाई स्थापित गर्न गुणात्मक र दीर्घकालीन भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । नेपालका पुराना सहर र भवनको निर्माणमा पनि योगको ज्ञान, विज्ञान एवं वास्तु इन्जिनियरिङको प्रयोग भएको पाइने उहाँले बताउनुभयो।
प्राकृतिक वातावरणको हिसाबले पनि नेपाल संसारभरका मानिसका लागि योग अभ्यासका लागि एउटा सुन्दर भूमि रहेको प्रधानमन्त्री दाहालको भनाइ छ । नेपाल योगसम्बन्धी ज्ञान विज्ञानको अध्ययन गरिरहेका विश्वभरका अध्येताहरूका लागि नेपाल मूल गन्तव्य बन्नसक्ने प्रचुर सम्भावना रहेको उहाँले बताउनुभयो ।