काठमाडौं । नेपालबाट साउदी अरबमा काम गर्न जाने कामदारहरुले एसईई पास गरेको हुनुपर्ने भएको छ ।
साउदी सरकारले परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभाग र साउदी दूतावासबाट एसईई उत्तीर्ण प्रमाणपत्र प्रमाणीकरण भएपछि मात्रै नेपाली श्रमिकहरू जान पाउने व्यवस्था गरेको हो ।
साउदी सरकारका अनुसार शैक्षिक प्रमाणपत्रअन्तर्गत एसइई वा एसएलसीभन्दा तलको प्रमाणीकरण हुनेछैन । त्यसैले अब सोसरह पढेका व्यक्तिहरुमात्रै साउदीमा रोजगारीमा जान पाउनेछन् ।
यसैबीच वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले सीप सिकेका वा काम जानेका कामदारको शैक्षिक योग्यता तोक्न नहुने बताउनुभयो ।
साउदीले किन शैक्षिक योग्यता भनेको हो थाहा नभएको उहाँले बताउनुभयो । साउदीले अन्य मुलुकमा पनि यस्तो व्यवस्था लागू गर्न प्रस्ताव गरेको थियो । तर, अन्य देशले अस्वीकार गरिसकेको र नेपालले पनि यसको समाधानका लागि कूटनीतिक पहल गर्नुपर्ने अध्यक्ष भण्डारी बताउनुहुन्छ । ।
साउदीमा धेरै नेपालीहरुले काम गरिरहेका छन् । वैदेशिक रोजगार विभागका अनुसार गत वर्षमात्रै करिब २ लाख नेपालीले श्रम स्वीकृति लिएर काम गर्न साउदी गएका छन् ।