काठमाडौं । सरकारले कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका रुपमा विकास गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सोमबार(आज) संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यस्तो बताउनुभएको हो।
सरकारले बजेट मार्फत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको रूपमा विकास गर्दै थप ४ वटा रंगशाला निर्माण गर्ने जनाएको छ ।
यस्तै विराटनगरमा गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला, बैतडीमा दशरथ चन्द क्रिकेट रङ्गशाला, कैलालीमा फाप्ला क्रिकेट रङ्गशाला र काठमाडौंमा सूवर्णशमसेर क्रिकेट रङ्गशाला निर्माण गरिने भएको छ ।
सन् १९९६ मा नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट एसोसिएट सदस्यता पाएपछि नेपाल क्रिकेट संघ (क्यान) को तत्कालीन कार्यसमितिले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको हाताभित्र उक्त मैदान बनाएको थियो ।
क्यान र त्रिभुवन विश्वविद्यालयबीच सुरुमा पाँच वर्षे सम्झौता भए पनि सम्झौता नवीकरण गर्दै क्यानले उक्त मैदानलाई लिजको रुपमा प्रयोग गर्दै आएको छ ।