काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक समितिको बैठकले कोभिड १९ लगायतका महामारी सम्वोधनका लागि कानूनी, रणनीतिगत व्यवस्थापन गर्न गराउन प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई निर्देशन दिएको छ ।
आज समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकले महामारीका ब्यवस्थापनका सन्र्दभमा लैगिंक पाटोलाई समेत विशेष ध्यान दिन निर्देशन दिएको छ । महामारी र सामाजिक प्रभाव विषयक कार्यसूची माथि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय एवम् समाजशास्त्रका अध्येता, विज्ञहरुसंग भएको छलफलपछि सो निर्देशन दिइएको हो।
समितिले कोभिड–१९ का कारण खाद्यान्नको माग र आपूर्तिमा सन्तुलन नमिल्दा मूल्य वृद्धि भएको, विश्वश्रम बजारमा ८० प्रतिशतले रोजगारी कटौती हुदा ४० लाख नेपालीहरुको रोजगारी प्रभावित हुन सक्ने जस्ता समस्या औंल्याउदै त्यसबाट उत्पन्न हुने परिस्थितिको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
साथै समितिले महिला, बालबालिका, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुको पीसीआर परिक्षण कार्यलाई पहिलो प्राथमिकता दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन समेत दिएको छ ।