Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

हुम्लामा नेपाली भूमि अतिक्रमणमा नपरेको सरकारको टिप्पणी प्रति स्थानीय जनप्रतिनिधिहरुको आपत्ति

हुम्लामा नेपाली भूमि अतिक्रमणमा नपरेको सरकारको टिप्पणी प्रति स्थानीय जनप्रतिनिधिहरुको आपत्ति

  • बिहिवार, आश्विन ८ २०७७

  • 1.9K
    SHARES

  • हुम्लामा नेपाली भूमि अतिक्रमणमा नपरेको सरकारको टिप्पणी प्रति स्थानीय जनप्रतिनिधिहरुको आपत्ति

    काठमाडौँ – स्थलगत अध्ययनको विवरण नआउँदै हुम्लामा नेपाली भूमि अतिक्रमणमा नपरेको सरकारको टिप्पणीप्रति स्थानीय जनप्रतिनिधिहरुले आपत्ति जनाएको छ । केही दिनदेखि हुम्लामा नेपाली भूमि अतिक्रमण गरेर चीनले भौतिक संरचना निर्माण गरेको समाचार बाहिरिएको थियो । यसबारे प्रमुख जिल्ला अधिकारीसहितको टोली स्थलगत अध्ययनमा छ ।

    तर उक्त टोली स्थलगत निरीक्षणबाट फर्कन नपाउँदै सरकारले हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण नगरेको बुधबार पत्रकार सम्मेलन गरी बताएकोप्रति स्थानीय जनप्रतिनिधिले आपत्ति जनाएका हुन् ।

    हुम्लाको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले नेपाली भूमि मिचिएको हुन सक्ने आशंका आफूहरुले व्यक्त गरेका बेला यसबारे सरकारले छानबिनको निष्कर्ष नै नपर्खेको टिप्पणी गर्नुभयो । बुधबार मात्रै ११ नम्बर पिल्लर भेटिएको खबर आफूलाई प्राप्त भएको बताउँदै अध्यक्ष लामाले छानबिन गरेर मात्रै सीमाबारे निक्र्याैलमा पुग्नुपर्ने आफ्नो माग रहेको बताउनुभयो ।

    हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी र गाउँपालिका अध्यक्ष लामासहितको टोली घुम्ती सेवाका क्रममा जाँदा चीनले नेपाली–चीन सीमा क्षेत्रमा ८÷९ वटा भवन निर्माण गरेको देखिएको र ती भवन निर्माण भएको क्षेत्र नेपाली भूमि हुन सक्ने भन्दै हुम्लाबाट गृह मन्त्रालयमा प्रतिवेदन पेश भएको थियो ।

    त्यसलगत्तै सरकारले प्रमुख जिल्ला अधिकारीसहितको टोलीलाई स्थलगत निरीक्षणमा खटाएको थियो । तर उक्त टोलीले फर्केर स्थलगत निरक्षणसहितको प्रतिवेदन बुझाउँन नपाउँदै सरकारले हिजो हुम्लामा चीनबाट नेपाली भूमि अतिक्रमण नभएको बताएको थियो।  परराष्ट्रमन्त्री समेत रहनुभएका सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण नगरेको र अहिले निर्माण भएको संचरना नेपाल–चीन सीमाभन्दा एक किलोमिटर चीनतर्फ नै रहेको बताउनुभएको थियो ।

    तर स्थानीय जनप्रनिनिधिसँगै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पनि हुम्लामा नेपाल र चीनबीचको सीमा मिचिएको हो वा होइन भन्नेबारे सरकारले हतारमा टिप्पणी गरेको आरोप लगाएको छ ।  प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र नेपाली सेनासमेतको टोलीको स्थलगत अध्ययन जारी रहँदै, स्थलगत भ्रमण पूरा गरेर सदरमुकाम फर्कनुपूर्व नै सरकारले धारणा सार्वजनिक गर्नु युक्तिसंगत नदेखिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कांग्रेस नेता चन्द्र भण्डारीले सरकारले हतारो टिप्पणी गरेको आरोप लगाउनुभयो ।

    स्थलगत अध्ययनको धारणा आउनुपूर्व नै ‘सीमा मिचिएकै छैन’ भनेर धारणा सार्वजनिक गर्नु परराष्ट्र मन्त्रालयको कमजोरी रहेको पनि कांग्रेसले आरोप लगाएको छ । नेता चन्द्र भण्डारीले नेपालका शासकहरुले मुलुकको नक्साको संरक्षण नै गर्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले अहिलेको सरकारले सीमालाई व्यवस्थित पार्दै नेपाली भूमिको रक्षाका लागि कसैसँग खुट्टा कमाउन नहुने धारणा व्यक्त गर्नुभयो ।

    सरकारले बुधबार पत्रकार सम्मेलन गर्दै उत्तरको छिमेकी चीनबाट नेपाली भूमि अतिक्रमणमा नपरेको र सीमाबारे कुनै समस्या पनि नभएको बताएको थियो । तर लामो समयदेखि सीमास्तम्भ नै हराएको क्षेत्रमा पर्याप्त अध्ययन र छानबिन बिनै हतारमा टिप्पणी गर्नु उचित होइन । त्यसमा पनि सीमा मिचिएको हुन सक्ने भन्दै प्रारम्भिक जानकारी दिने स्थानीय प्रशासक र जनप्रतिनिधिलाई किन गलत सूचना दिएको भन्दै २४ घण्टे स्पष्टिकरण सोधिनु आपत्तिजनक छ ।


    बिहिवार, आश्विन ८ २०७७०८:२३:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij