काठमाडौं । टीकापुर घटनामा दोषी ठहरिएर जन्मकैदको सजाय पाएका रेशम चौधरीले डिल्लीबजार कारागारबाट एक विज्ञप्ति जारी गर्दै संयमित प्रतिक्रिया दिएका छन् । उनले विज्ञप्तिमार्फत फैसलालाई सम्मान र स्वीकार गर्ने बताएका छन् । रेशमले टीकापुर घटनामाथि गरिएको फैसलामा पुनरावलोकनको बाटो समेत खुला रहेको बताएका छन् । तर, पुनरावेदन गर्ने वा नगर्ने भन्नेबारे स्पष्ट भनेका छैनन् । सम्मानित अदालतलाई सदा सम्मान गर्ने भन्दै उनले फैसलामाथि अनर्गल टिप्पणी नगर्न सबैलाई आग्रहसमेत गरेका छन् । सर्वोच्चप्रति भरोसा रहेको भन्दै चौधरीले आफू अझै पनि न्यायिक पर्खाइमा रहेको उल्लेख गरेका छन् । आफ्नो पार्टीका संरक्षक चौधरीलाई जन्मकैद भएपछि नागरिक उन्मुक्ति पार्टी भने आन्दोलित बनेको छ ।
पार्टीले जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले राजनीतिक मुद्दा भएकाले राजनीतिक तवरबाटै टुंग्याउनुपर्ने बताउनुभयो । उहाँले जेठ ३ देखि ५ सम्म देशभर राँके जुलुस प्रदर्शन गर्ने समेत बताउनुभयो ।
नागरिक उन्मुक्ति पार्टीले लाल आयोगको प्रतिवेदन समेत सार्वजनिक गर्न माग गरेको छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक नगरे नेपाल बन्द गर्ने नाउपाको चेतावनी छ । २०७२ सालमा संविधान जारी गर्दा त्यसको विरोधमा मधेश तथा थारुहटमा भएको आन्दोलनका क्रममा सरकारी पक्षको दमनबारे अध्ययन गर्न सरकारले लालको नेतृत्वमा गठन गरेको थियो । तर उक्त आयोगको प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन ।
आज गरेको पत्रकार सम्मेलनमा बोल्दै पार्टीका नेता लक्ष्मण चौधरीले रेशम चौधरी निर्दोष रहेको बताएका छन् । सर्वोच्चको फैसलालाई मान्नुको विकल्प नरहेको बताउँदै चौधरीले रेशमलाई फसाउने षडयन्त्र रचिएकोप्रति दुःख व्यक्त गर्नुभयो । यस्तै अर्का नेता हिमाञ्चल भट्टराईले राज्यसँगको लडाईं भएकोले पुनरावलोकनमार्फत न्याय पाइने आशा व्यक्त गर्नुभयो ।
सर्वोच्चको फैसलापछि रिहा भएका सीताराम चौधरीले बिना प्रमाण आफूहरूलाई जेलमा राखिएको भन्दै दुख व्यक्त गर्नुभयो । हजारौँको भिडमा कसले के गरे थाहा नै नभई छोपेर जेल हाल्ने काम भएको उनको भनाइ थियो ।
२०७२ साल भदौ ७ गते अखण्ड सुदूरपश्चिम र थरुहट आन्दोलन चर्किएको समयमा झडपमा परी सुरक्षाकर्मीसहित ७ जनाको मृत्यु भएको थियो । सोही घटनाको योजनाकार भनिएका रेशम चौधरीलाई जन्मकैदको फैसला तोकिएको हो ।