काठमाडौं । आज देशका विभीन्न स्थानमा भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध प्रदर्शन भएको छ ।
काठमाडौंको नक्शालमा भएको प्रदर्शनमा सहभागी नागरिक अगुवा तथा चिकित्सक डा. गोविन्द केसीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला नेताहरु पनि जोडिएको आशंका गर्नुभएको छ। ठूला नेताको आड नपाई अरु नेताहरुले भ्रष्टाचारको हिम्मत नगर्ने उहाँको भनाइ छ ।
‘भुटानी शरणार्थी काण्डमा खुट्टा कमाउनु हुँदैन । छानबिन विस्तृत हुनुपर्छ, निष्पक्ष हुनुपर्छ, शीर्ष नेता पनि दोषी पाइयो भने उनीहरुलाई कारबाही हुुनपर्छ । देउवा, ओली, प्रचण्ड पनि दोषी पाइयो भने कारबाही हुनुपर्छ । शीर्ष नेता भ्रष्ट नभइकन ऊ भन्दा तलको नेता भ्रष्ट हुन गाह्रो छ’ उहाँले भन्नुभयो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भइसकेका नेताहरु फरार हुनुले उनीहरु दोषी रहेको आशंकामा बल मिलेको केसीको भनाइ छ ।