सप्तरीमा एक जनाको कोरोना संक्रमणबाट आज बिहान मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार जिल्ला प्रशासन कार्यालयमा कार्यरत ५५ वर्षीय कार्यालय सहयोगी पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो। उनमा भदौ ३१ गते कोरोना पोजेटिभ देखिएको थियो।
त्यसयता उनी होम आइसोलेसनमा बस्दै आएका थिए । ११ दिनअघि प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा प्रमुखहरुको स्वाब संकलन गरिएको दिन उनले पनि पीसीआरका लागि स्वाब दिएका थिए ।
अन्यको रिपोर्ट नेगेटिभ आएपनि उनको रिपोर्ट पोजिटिभ आएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि २–३ दिन सामान्य अवस्था देखिएपनि पछि उनमा लक्षण देखिन थालेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी आनन्दकुमार ठाकुरले बताउनुुभयो । योसँगै सप्तरी जिल्लामा कोरोना संक्रमित भइ मृत्यु हुनेको संख्या १२ पुगेको छ ।