काठमाडौं । कैदीबन्दी रामलखन जैसवालको शवको पोस्टमार्टम हुने भएको छ । केन्द्रीय कारागारमा सजाय काटेका उनको शनिबार वीर अस्पतालमा मृत्यु भएको थियो ।
जैसवालको मृत्युलाई ‘शंकास्पद’ भन्दै आफन्तले विरोध जनाएका थिए । चर्को विवादपछि गृह मन्त्रालयले आज शवको पोस्टमार्टम गर्ने निर्णय गरेको हो । मृतकका आफन्तले हत्या र अङ्ग झिकिएको आरोप लगाउँदै पोस्टमार्टमको माग गरेका थिए ।
६३ वर्षीय जैसवालको आँखा झिकिएको र शरीरका विभिन्न भागमा चोट रहेको उनकी छोरी रश्मि जैसवाललगायत आफन्तले दाबी गरेका छन् ।
मंगलबार बिहान उनीहरुले वीर अस्पताल अगाडि प्रदर्शन पनि गरेका थिए । पार्किन्सन र प्रेसरका विरामी जैसवालको गत शनिबार राति अन्दाजी १० बजे निधन भएको अस्पतालको दाबी छ ।
जेलमा कैदीको शंकास्पद मृत्युबारे आज संयुक्त पत्रकारसम्मेलन गर्दै केन्दीय कारागार र वीर अस्पतालले भ्रमको पछि नलाग्न आग्रह गरेका छन् ।
वीर अस्पतालका प्रवक्ता विद्यानिधि पौडेलले जैसवाललाई अस्पताल ल्याइपु¥याउनुअघि नै उनको मृत्यु भइसकेको र त्यसपछि कोरोना परीक्षण गरिएको बताउनुभयो ।
यता, केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले आरोपहरु झुट्टा भएको दावी गर्नुभयो ।
यसैबीच, उपचारका क्रममा मृत्यु भएका कैदीबारे सामाजिक सञ्जालमा आएका खबरहरु भ्रमपूर्ण रहेको वीर अस्पतालले जनाएको छ ।
साथै, स्वास्थ्य मन्त्रालयले पनि जयसवालको उपचारका लागि अस्पताल ल्याउँदा–ल्याउँदै मृत्यु भएको बताएको छ ।