काठमाडौं । पूर्वसूचना तथा सञ्चारप्रविधिमन्त्री गोकुल बाँस्कोटाले पत्रकारहरुको आन्दोलनलाई समर्थन जनाएका छन् । आज ट्विट गर्दै उनले संस्था वा सम्पत्ति धितो राखेर भए पनि पत्रकारलाई सहुलियत ऋण लिने व्यवस्था मिलाउन मिडिया मालिकहरुलाई आग्रह गरेका छन् ।
आफूले श्रमजीवि पत्रकारले नियुक्तिपत्र पाउनुपर्छ र उनीहरुलाई न्युनतम पारिश्रमिक अनिवार्य गर्नुपर्छ भन्दा अरुले वास्ता नगरेको पूर्वमन्त्री बाँस्कोटाको भनाइ छ । त्यसैको परिणामस्वरुप अहिले पत्रकारहरुले जागिरबाट निष्कासित हुनुपरेको उनको ठम्याइ छ ।
‘श्रमजीवी पत्रकारले नियुक्तिपत्र र न्युनतम पारिश्रमिक अनिवार्य गर्नुपर्छ भन्दा कानमा बतास लागेन’, उनको कटाक्ष छ, ‘अहिले अनसन थालेछन मेरो समर्थन छ । मिडिया मालिकले संस्था वा सम्पत्ति धितो राखेर सहुलियत ऋण लिने व्यवस्था मिलाए भैगो नि !'
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुझिएपछि बाँस्कोटाले सञ्चारमन्त्रीबाट राजीनामा दिएका थिए । उनलाई ७० करोड कमिसन मागेको आरोप लागेको छ । त्यसयता उनी राजनीतिमा कमै सकृय भए पनि सामाजिक सञ्जालमा भने वेला–वेला छाउने गरेका छन् ।
