काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको ६८ औं सचिवालय बैठकले पार्टी एकताकोका काम १० दिनभित्र सकाउने निर्णय गरेको छ।
प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको बैठकले पार्टी एकताका बाँकी काम सक्ने गरी १० दिनभित्र अध्यक्ष र महासचिवले प्रस्ताव ल्याउने र त्यसपछि सचिवालयले निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
लामो समयदेखि रिक्त संवैधानिक परिषदमा नियुक्ति गर्न प्रकिया थाल्ने, परिषद्को बैठक छिटो राख्न प्रधानमन्त्रीलाई आग्रह गर्नेलगायतका निर्णय पनि बैठकले गरेको छ।
बाँकी रहेका विविध एजेन्डामा २- ३ दिन भित्र बैठक बसेर छलफल र निर्णय गर्ने सहमति पनि भएको श्रेष्ठले बताए। असोज ४ गते पेरिसडाँडामा सुरु भएको बैठक मंगलवार भने बालुवाटारमा बसेको हो।
मन्त्रिपरिषद पुनरगठनका बिषयमा टुंगो लगाइने भनिए पनि ओली प्रचण्डबीच मन्त्री कसलाई बनाउने भन्ने विषयमा सहमति भइनसकेको बताइएको छ।