काठमाडौं । केन्द्रीय सदस्य कल्याण गुरुङले नेपाली काँग्रेसको आसन्न महाधिवेशनमा युवा पुस्ताको नेतृत्व गर्दै उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । नेपाल विद्यार्थी संघका पूर्वअध्यक्षसमेत रहेका उहाँले पार्टी सभापतिमा उम्मेदवारी दिन लाग्नुभएको हो ।
वर्तमान सभापति शेरबहादुर देउवाले दोस्रो कार्यकालको लागि पुनः उम्मेदवारी दिने चर्चा चलेसँगै नयाँ पुस्ताले नेत्तृत्वको अवसर पाउनुपर्ने भन्दै आफूले सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेको गुरुङले बताउनुभएको छ । ।
‘नेतृत्व नयाँ पुस्ताले पाउनु पर्छ भन्ने सन्देश दिँदै मैले सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेको हुँ’, उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेसको संगठन संरचना नै परिवर्तन गर्नुपर्छ भन्ने नयाँ अवधारणाका साथ म १४ औं अधिवेशनमा प्रस्तुत हुने तयारीमा छु ।’
मुलत : काँगे्रसको आन्तरिक द्वन्द्व नीतिप्रधान हुनुपर्नेमा केन्द्रीय सदस्य गुरुङले जोड दिँदै आउनुभएको छ ।
पार्टी फुट्दा काँग्रेस (प्रजातान्त्रिक)को विद्यार्थी संगठनको निर्वाचित अध्यक्ष बन्नुभएका गुरुङ पछिल्लो समय कोइरालाहरुनिकट मानिनुहुन्छ ।
तराईबाट प्रतिनिधित्व गर्ने गुरुङ १३ औं महाधिवेशनमा जनजाति कोटाबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो ।
१४ औं महाधिवेशमा पार्टी सभापतिको लागि युवा नेता गगन थापादेखि लिएर अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, डा. सशांक कोइराला, प्रकाशमान सिंहलगायतले दावी प्रस्तुत गरेका छन् ।