काठमाडौं । विश्वका प्रदूषित सहरको पहिलो नम्बरमा काठमाडौं परेको छ। एअर क्वालिटी इन्डेक्स (एक्यूआइ)ले गरेको मापनअनुसार काठमाडौंको एयर भिजुअल सूचक आइक्यू १९६ रहेको छ। उक्त सूचक १५१ देखि ३०० बीचमा रहनु अस्वस्थकर मानिन्छ।
देशका विभिन्न स्थानमा डढेलो लाग्दा काठमाडौँ उपत्यकासहित देशैभर प्रदूषण बढेको हो । सुख्खा मौसम सुरु भएसँगै डढेलो लाग्दा विश्वका सबै देशलाई उछिन्दै काठमाडौँ सबैभन्दा बढी प्रदूषित सहरमा सूचीकृत भएको छ । जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाले तीन दिनसम्म पानी पर्ने सम्भावना नरहेको आकलन गरेको छ । बादल लागे पनि पानी पर्ने सम्भावना नभएकाले प्रदूषणले मानव स्वास्थ्यलाई असर पार्न सक्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो प्रदूषणले गर्दा हवाई उड्डयन क्षेत्रमा समेत असर पारेको मानन्धरले बताउनुभयो ।
पछिल्लो समय लुम्बिनी प्रदेशसहित गण्डकी, बाग्मती, मधेस र कोसी प्रदेश क्षेत्रमा डढेलो लाग्दा प्रदूषण भएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवम् डढेलोविद् सुन्दर शर्माले बताउनुभयो । देशका पूर्वी क्षेत्रमा ४ सयभन्दा बढी क्षेत्रमा आगलागी भइरहेको शर्माले बताउनुभएको छ । सानो सङ्ख्यामा आगो लाग्दा खासै समस्या नभए पनि व्यापक मात्रामा डढेलो लाग्दा अत्यन्तै प्रदूषण भएको शर्माले बताउनुभयो ।
डढेलोबाट उत्पन्न प्रदूषणले दीर्घ रोगीलाई समस्या गराउन सक्ने भएकाले सजग रहन शर्माले आग्रह गर्नुभएको छ ।
विश्व स्वास्थ्य सङ्गठनको मापदण्डमा पिएम २ दशमलव १० र न्यूनतम २५ माईक्र्रोग्राम हुनु पर्ने व्यवस्था छ भने नेपालमा ४० माईक्र्रोग्राम हुनुपर्ने व्यवस्था छ । तर, उपत्यकासहित तराईमा नेपाल सरकारले तोकेको मापदण्डभन्दा सय पिएम प्रदूषण भएको छ । आँखाले देख्न नसक्ने स–साना धुलोका कणहरू अक्सिजनको माध्यमबाट फोक्सो हुँदै रक्त कोषसम्म पुग्ने भएकाले अत्यन्तै हानिकारक मानिन्छ । आज काठमाडौँको रत्नपार्कमा १४३ पिएम, कीर्तिपुर १५२ पिएम, भैसेपाटी १६५ पिएम, खुमलटार १८१ पिएम छ । जुन विश्व स्वास्थ्य संगठनले तोकेको भन्दा तेब्बर भन्दा बढी प्रदूषण हो ।
काठमाडौं सबैभन्दा प्रदूषित सहरमा रहँदा थाइल्यान्डको चियाङ मेइ दोस्रो नम्बरमा र बंगलादेशको ढाका तेस्रो नम्बरमा रहेको छ। भारतका २ सहर दिल्ली र कोलकाता, पाकिस्तानको लाओस र भियतनामको हानोइ सहर पनि अस्वस्थकर प्रदूषण भएकामा परेका छन्।