काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका सचिव योगेश भट्टराईले चितवन क्षेत्र नं. २ मा गत मंसिरको जस्तो परीणाम आए फेरि उपचुनाव हुनसक्ने बताउनु भएको छ।
चुनाव प्रचारका लागि चितवन जानुभएका एमाले सचिव भट्टराईले प्रेस चौतारी नेपालले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा रास्वपाका सभापति रवि लामिछानेले देशको कानून उल्लंघन गर्दा चितवन २ मा उपचुनाव गर्नुपरेको बताउनुभयो । उहाँले मंसिर ४ मा भएको गल्तीलाई जनताले वैशाख १० मा सच्चाउनुपर्ने बताउनुभयो ।
गत मंसिर ४ को संसदीय निर्वाचन चितवन क्षेत्र नम्बर २ बाट रास्वपा सभापति रवि लामिछाने विजयी हुनुभएको थियो । तर उहाँ नागरिकता सम्बन्धी विवादमा पदमुक्त भएपछि यही वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।
उपनिर्वाचनमा रवि पुनः उम्मेदवार बन्नुभएको छ। सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार हुनुहुन्छ ।